प्रधानमन्त्री कप महिला ट्वान्टी–२०मा वाग्मतीको सान्त्वना जित
काठमाडौँ–अन्तिम खेलअगावै सेमिफाइनल सम्भावना समाप्त भएको वाग्मती प्रदेशले प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार सान्त्वना जित निकालेको छ । लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा वाग्मतीले गण्डकी प्रदेशलाई ३७ रनले हराउँदै प्रतियोगिताको सुखद अन्त्य ग¥यो ।
समूह ‘ए’को यसअघिका २ खेलमा हार व्यहोरेका दुवै टिमको सेमिफाइनल सम्भावना समाप्त भइसकेको थियो । यो समूहबाट सुदूरपश्चिम प्रदेश समूह विजेता र सशस्त्र प्रहरी बलको एपीएफ क्लब उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
बुधबार सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा वाग्मतीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।
यसअघि, टस जितेर ब्याटिङमा आएको वाग्मतीले २० ओभरमा पाँच विकेट गुमाएर १३५ रन बनाएको थियो ।
यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको समूह ‘ए’बाट सुदूरपश्चिम र एपीएफले सेमिफाइनलमा स्थान बनाउँदा समूह ‘बी’बाट प्रदेश नम्बर–१ ले विजेताका रूपमा र मधेस प्रदेशले उपविजेताका रूपमा सेमिफाइनलको टिकट काटे ।
आउँदो शुक्रबार हुने सेमिफाइनल खेलमा सुदूरपश्चिमले मधेस प्रदेशविरुद्ध र प्रदेश–१ ले एपीएफविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।