महिला साफ यू–२० : नेपाली महिला टोली बन्द प्रशिक्षणमा
काठमाडौँ–बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ ।
फेब्रअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा ४ राष्ट्रले प्रतिष्पर्धा गर्दै छन् । उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधि जित्ने लक्ष्य राखेको छ ।
दक्षिण एशियाली राष्ट्रहरूको प्रतिष्ठित प्रतियोगिता साफ फुटबलअन्तर्गतको महिला यू–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुन लागेको हो ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताका लागि सबै देशले तयारीलाई तीव्रता दिइरहँदा नेपाली टोलीले पनि आफ्नो तयारी तीव्र पारेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टोली अभ्यासमा रहेको छ ।
अघिल्ला संस्करण साफ यू–१८, साफ यू–१९ नामबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिले भने यू–२० बाट हुँदैछ । अघिल्लो इतिहास हेर्दा उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताए ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले ३ साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको बताए ।
यसअघि पनि सहभागिता जनाउँदै आएको नेपालले यस संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानविरुद्ध राम्रो खेल खेल्ने अपेक्षा राखेको छ ।
खेल तालिकाअनुसार नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ ।
त्यसको २ दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ । सिंगल राउण्ड रोबिन पद्धतिमा आयोजना हुने प्रतियोगितामा शीर्ष २ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।