Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘युथ एन्ड ट्रेन्ड’ : १८ बर्से किशोरीको हुटहुटी र २ हजार लगानीको ब्रान्ड

बिहीबार, माघ ५, २०७९

काठमाडौँमा १ कप चियाको सामान्यतः २५ रूपैयाँ पर्छ । अपवादबाहेक १०० घटीमा पेट शान्त हुने गरी केही खाजा खान पाइँदैन । यस हिसाबले १ कप चिया र नास्ता खाँदा दिनको १२५ रूपैयाँ खर्च हुन्छ ।

 

१ महिनामा चिया खाजाका लागि मात्रै ३७ सय ५० रूपैयाँ ‘पकेट मनी’ छुट्याउनुपर्ने हुन्छ । अझ यसमा कहिलेकाहीँ साथीभाइ भेट हुँदा हुने अतिरिक्त खर्च त जोडिएकै छैन । 

 

स्कुल कलेज जाने छोराछोरी, भाइबहिनीलाई खाजा खर्च भनेर ५० रूपैयाँ दियो भने उनीहरू उल्टै झर्किन्छन्– जाबो ५० मा के खानु ? हाफ प्लेट मम पनि आउँदैन ।

 

मतलब अहिलेको महँगीमा २–४ हजार रूपैयाँ ‘जाबो’ लाग्छ अहिलेको पुस्तालाई ।


तर यसरी नै खाजा खर्चका लागि भनेर छुट्ट्याएको ५०–१०० रूपैयाँबाट १०–१५ रूपैयाँ जोगाउँदै २ हजार रूपैयाँ बनाएर लगानी गरेर व्यवसायी बन्न सकिन्छ भन्ने यही अहिलेको पुस्तालाई विश्वास नलाग्न सक्छ ।


त्यसरी खाजा खर्च काटेर व्यवसाय गर्ने पनि अहिलेकै पुस्ता हो भन्दा अझै अचम्म लाग्न सक्छ । तर यसमा अचम्म मान्नुपर्ने केही छैन ।

 
जम्मा २ हजारमा सुरु गरेको व्यवसाय अहिले एउटा ब्रान्ड बनेको छ । यसलाई अधिकांश युवाले मन पनि पराएका छन् । 

 


०००


भविष्य राम्रो बनाउनु छ भने सानै उमेरबाट परिश्रम गनुपर्छ भन्ने लाग्छ उनलाई । युवा पुस्ताले काममाभन्दा बढी पढाइमा ध्यान दिनुपर्ने कुरामा उनी सहमत छैनन् ।


पछिल्लो समय देशमा केही अवसर नै नभएको भन्दै नेता र व्यवस्थालाई नै सराप्दै विदेश जाने युवाको ताँतीले उनको मन पोलेको छ । उनलाई लाग्छ– इच्छाशक्ति भए नेपालमै ‘केही’ मात्र होइन, ‘धेरै’ गर्न सकिन्छ । ‘धेरै’ गर्न धेरै केही चाहिँदैन, थोरैबाट सुरु गर्न सकिन्छ ।


यही हुटहुटीले उनलाई विद्यार्थीबाट व्यवसायी बन्ने बाटोमा डो¥यायो । घरबाट खाजा खर्चका लागि भनेर दिएको रकमबाट थोरै–थोरै रकम जम्मा गरिन् ।


काठमाडौँको स्वयम्भूमा बस्ने उनी हुन् २० वर्षीया ऋचा घिमिरे । आफू १८ वर्षको उमेरमा उनले ‘युथ एन्ड ट्रेन्ड’ नामक ब्रान्डमा कपडाको व्यवसाय सुरु गरिन् । सो ब्रान्ड अहिले युवा पुस्ताको रोजाइको ब्रान्ड बन्दै गएको छ । 


‘स्किल छ भने विदेश नै जानु जरुरी छैन । देशमा सानै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ,’ उनको धारणा छ ।


२ वर्षअघि उनी एक्लैले २ हजार लगानीमा सुरु गरेको उनको यो ब्रान्डमा अहिले २० देखि ४० वर्ष उमेर समूहका ९ जनाले रोजगारी पाएका छन् । 


युथ एन्ड ट्रेन्डका कपडा प्रायः अनलाइनमार्फत बिक्री गर्ने गरिन्छ । तर कपडा हेरेर मात्र लिने कस्टमरहरूका लागि भने काठमाडौँको डिल्लीबजारमा वेयर हाउस रहेको र त्यहाँ आएर कपडाहरू हेर्न सकिने उनले बताइन् । अनलाइन अर्डरमार्फत नेपालका लगभग सबै प्रदेशमा यो ब्रान्डका कपडा बिक्री भइरहेका छन् । 


प्रत्येक महिना कति व्यापार गर्न सकिन्छ भन्ने टार्गेट राखेर काम गर्ने गरेको उनको भनाइ छ । त्यसो गर्दा गुड मन्थअन्तर्गत ९ देखि १० लाख रुपैयाँसम्म सेल हुने गरेको उनी बताउँछिन् ।

 
ऋचाले व्यवसाय सँगसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेकी छिन् । हाल उनी डिजिटल मार्केटिङमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत छिन् ।


आफ्ना व्यक्तिगत चाहना पूरा गर्न अभिभावकलाई नै गुहार्न जान उनलाई फिटिक्कै मन लागेन । पढाइ पूरा गरेर राम्रो जागिर खाने सपना प्रायः सबैको हुन्छ । तर उनलाई त्यस्तो सोच खै किन आएन रे ।


‘पढाइ पूरा गरुन्जेल चाहिँ आफूलाई मन लागेको काम गर्नै नपाउने त ? त्यसका लागि बुबाआमा, दाजुदिदीकै भर पर्नुपर्ने त ?,’ यस्तै लाग्यो रे उनलाई । अनि आफ्नो आवश्यकता र चाहना म आफैँ पूरा गर्छु भन्ने अठोट लिएर यो व्यवसायमा लागेको उनी बताउँछिन् । 


यस्तै युवा पुस्तालाई गफ होइन काम गर्नुपर्छ भन्ने सन्देश दिन पनि आफूले यो व्यवसाय सुरु गरेको उनी बताउँछिन् ।

 


आर्थिक, सामाजिक र मानसिक रूपमा आइपर्ने समस्यालाई सानै उमेरदेखि नजिकबाट नियाल्दै जानुपर्छ भन्ने सोचले पनि उनलाई यसतर्फ प्ररित गरेको हो । नेपालमा नै काम गर्न थालेपछि विदेश जाने इच्छा पनि मर्दै जाने उनको बुझाइ छ । 


नेपाली कपडा भन्नेबित्तिकै कि त कमसल हुन्छ कि महँगो हुन्छ भन्ने आमबुझाइलाई परिवर्तन गर्नुपर्ने उनी बताउँछिन् । त्यसका लागि नेपाली बजारलाई लक्षित गरी उत्पादन र वितरण गरिरहेको उनको भनाइ छ ।


उनको ब्रान्डले हुडी, स्वेट सर्ट, टिसर्ट, पाइन्टलगायत कस्टमरको डिमान्ड र डिजाइनअनुसारका कपडा बनाउने गर्छ ।
यी सबैमा प्रायजसो कटनको कपडा प्रयोग गरिन्छ । नेपालको आर्थिक पाटोलाई पनि सहयोग पु¥याउने उद्देश्यका साथ सबै ‘मेटेरियल’ नेपालमै उत्पादन हुने गरेको उनले बताइन् । 


विशेष गरी युवा पुस्तालाई फोकस गरेर कपडा बनाउने गरेको र कपडाको मूल्य पनि ‘अफोर्डेबल’ राखिएको छ । प्रायः युवा पुस्तामा पैसाको कमी हुने तर स्टाइलिस र नयाँँ कपडा लगाउन रहर हुने भएकाले सबैलाई उचित हुने गरी ६०० रुपैयाँदेखिका कपडा उनको ब्रान्डमा उपलब्ध छन् । 


पछिल्लो समय बजारमा थुप्रै नयाँ ब्रान्ड निस्किएका छन् । साथै युवामा पनि केही फरक र नयाँ डिजाइन खोज्ने क्रममा बढेको छ । 
‘युथ एन्ड ट्रेन्ड’लाई किन अरूभन्दा फरक ठान्ने त ? भन्ने प्रश्नमा ऋचाको उत्तर छ– ‘हामी कस्टमरको इच्छा र डिजाइनअनुसारका कपडा बनाउने गर्छौं, त्यो पनि अफोर्डेबल मूल्यमा ।’


आउँदा दिनमा आफ्नो ब्रान्डलाई थप अगाडि बढाएर अन्तर्राष्ट्रियकरण गर्ने सोचमा रहेको ऋचा बताउँछिन् ।

 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्