Nic Ad Nic Ad
Nic Ad Nic Ad

'नत्र आमाले दबाई खान पाउनुहुन्न'

बिहीबार, माघ ५, २०७९

काठमाडौँ– नयाँ सरकार बनेसँगै नेपालको प्रमुख प्रशासनिक केन्द्र सिहंदरबारमा अहिले राजनीतिक चलपल बढेको छ । 

 

सिंहदरबारको मूल गेटमा त्यहाँ प्रवेश गर्ने नेता र सर्वसाधारणलाई १२ वर्षीय बालक मास्क किन्न आग्रह गर्दै उभिएका भेटिन्छन् । 

 

ती बालक हुन्– बारा जिल्ला बारागढी गाउँपालिका महिल गाउँका सुनु साह । उनी काठमाडौँको गौशालामा बस्दै आएका छन् ।

 

१२ वर्षीय बालक सिहंदरबार प्रवेश गर्ने सबैलाई ‘भित्र मास्क नलगाई जान पाइँदैन, १० रुपैयाँमा मास्क लिएर जानुहोस्’ भन्दै मास्क बेचिरहेका हुन्छन् । उनले बारामै ३ कक्षासम्म पढेको र त्यसपछि पढाइ छाडेर गाउँकै एकजना दाइसँग फुटपाथमा व्यापार गर्न काठमाडौँ छिरेको बताए ।

 

२ वर्षयता मास्क बेच्दै घरमा बिरामी आमालाई उपचार खर्च जुटाउँदै आएको साह बताउँछन् । सानैदेखि यस्तै व्यापार गर्दै आएकाले बानी परेको उनले बताए । 

 

‘पढ्न मन थियो । पैसा नभएपछि बुबाले पढाउनु भएन । त्यसपछि गाउँ छाडेर गाउँकै दाजुसँग काठमाडौँ आएर दिनभर कहिले मास्क र कहिले कटन क्यान्डी बेच्दै आएको छु,’ उनले भने, ‘गाउँमा आमा बिरामी हुनुहुन्छ । म र दाइ भएर महिनैपिच्छे उपचार खर्च पठाउँछौँ । त्यही भएर दाइ कबाडी बटुल्नुहुन्छ । म मास्क बेच्छु । नत्र आमाले औषधि खान पाउनुहुन्न ।’

 

उनी दिनमा हजार रुपैयाँको मास्क होलसेल पसलबाट किनेर व्यापार गर्न निस्किन्छन् । त्यहीँबाट दिनमा ३ देखि ५ सय रुपैयाँ फाइदा हुने गरेको उनले जानकारी दिए । 

 

उनका दाइले पनि कबाडी बटुलेर दैनिक ५ सयसम्म कमाउने गरेको उनको भनाइ छ ।

 

‘कोठा भाडा नै ४ हजार तिर्नुपर्छ । अहिलेको कमाइले त बिहान–बेलुका दाजुभाइलाई छार्क टार्न नै ठिक्क हुन्छ, अलि राम्रो कमाइ भएका दिन बचाएर आमालाई पठाउँछौँ,’ उनले भने ।

 

तिमीलाई पढ्न मन लाग्दैन ? भन्ने क्यानडा नेपालको प्रश्नमा उनले भने, ‘पढ्न मन त छ नि ! कसले पढाउँछ ? हामीसँग त पढ्ने पैसा छैन । मन भएर हुँदैन रहेछ ।’

 

आफूजस्तै अरू बालबालिका विद्यालय गएको देख्दा आफूलाई पनि राम्रो कपडा लगाएर स्कुल जान मन लाग्छ रे उनलाई । तर, पैसाकै अभावका कारण जान नसकेको उनले बताए ।

 

‘गाउँमा पढ्छु भन्दा बुबाले कुट्नुभयो । त्यही भएर दाइसँग पनि पढ्छु भन्न डर लाग्छ,’ उनले भने । पैसा कमाउन नसकेका कारण तिहार र छठमा पनि घर जान नपाएको उनको गुनासो छ । 

 

‘आज यहाँ मास्क बेच्न आएँ । भोलि कटन क्यान्डी बेच्न कोटेश्वर जान्छु,’ उनले भने, ‘बाटोमा समान बेच्ने धेरै छन् त्यसैले पैसा कमाउन गाह्रो छ ।’ मास्क किन्नेभन्दा बढी ‘खाते’ भन्दै गाली गर्ने भेटिने उनी गुनासो गर्छन् ।

 

उनी त सिहंदरबार गेटमा भेटिएका एक प्रतिनिधि पात्रमात्र हुन् । काठमाडौँमा साहजस्ता ३ हजारभन्दा धेरै बालबालिका फुटपाथमा व्यापार गरिरहेको काठमाडौँ महानगरपालिकाको एक अध्ययनमा उल्लेख छ । 

 

संविधानले आधारभूत तह (कक्षा ८ सम्म)को शिक्षालाइ अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, साढे ४ लाख बालबालिका विद्यालयबाहिर छन् । 

 

सरकारले यस्ता बालबालिका विद्यालयसम्म पुर्‍याउन वार्षिक बजेटमा शिक्षा ऐन २०५८ अनुसार विपन्न बालबालिकाका लागि निःशुल्क शिक्षा, निःशुल्क शैक्षिक सामग्री वितरण र छात्रवृत्तिको व्यवस्था अनिवार्य गर्नुपर्छ । तर, उक्त ऐनले साहजस्ता बालबालिकालाई भने छोएको देखिँदैन । 

 

विद्यालय जान नपाएका र विद्यालयबाहिर रहेका बालबालिका घरेलु काम, बाल श्रम र फुटपाथ व्यापारमा पुग्ने गरेको श्रम मन्त्रालयको एक अध्ययनमा भनिएको छ । 

 

काठमाडौँको नयाँबानेश्वर, रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँ बसपार्क, गोंगबु, सुन्धारा, न्युरोड र ललितपुरको मंगलबजार, लगनखेल, जावलाखेल, चक्रपथ, कुपण्डोल, पुल्चोकका सडकमा साहजस्तै धेरै बालबालिका सडकमा सामान्य व्यापार गरेर गुजारा चलाउँदै आएका छन् । 

 

सडकमा पानी, प्राविधिक सामान, धुलो पुछ्ने कपडा र अन्य खाद्यान्न सामग्री व्यापार गर्दै गरेका बालबालिका बग्रेल्ती भेटिन्छन् । यसरी व्यापार गर्नु कतिपयका हकमा बाध्यता छ ।

 

यसरी बालबालिकाले सडकमा व्यापार गर्दा उनीहरूको ज्यानको पनि जोखिम हुने गरेको ट्राफिक प्रहरीहरूले समस्या औँल्याउँदै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्