सदनमा मौनधारण गर्दै सिके राउतले सोधे– मधेसलाई बाहिर राखेर कस्तो राष्ट्रिय सहमति खोजेको
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस आन्दोलनका सहिदको स्मरणमा सदनमै मौनधारण गरेका छन् ।
बिहीबार सभामुखको निर्वाचनसम्बन्धी छलफलमा सहभागी भएका राउतले मौन धारण गरेका हुन् । मौनधारण गर्नुअघि उनले मधेसका सहिदको सम्मानमा अरूले सम्मान गर्ने कि नगर्ने भनेर प्रश्न उठाए ।
उनले मौनधारण सुरु गरेपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू बसिरहेको सिटबाट उठेका थिए । उनीहरूलाई साथ दिन अन्य केही सांसद पनि उठे ।
सदनमा बोल्दै राउतले पदका लागि मात्रै राष्ट्रिय सहमति नखोज्न आग्रह गरे । पदका लागि नभई देशलाई संकटबाट बाहिर निकाल्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनको भनाइ थियो ।
मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको भन्दै उनले प्रश्न गरे । ‘सभामुखको चुनावका लागि विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको कुरा आयो । राष्ट्रिय सहमति केका लागि ? पदका लागि मात्रै हो कि ? देश संकटमा परेका बेलामा राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन ।’
यस्तै उनले तराईका विभिन्न जिल्लामा शीतलहरले आक्रान्त बनाएको र देशको अर्थतन्त्रमा आएको संकटको विषय पनि उठाए । उनले भने, ‘तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।’