कृषिमा ४० हजार खर्च गर्दा १५ हजार मात्रै फर्किन्छ : मन्त्री साह
काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै किसानहरूले खर्चअनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।
प्रतिबिघा ४० हजार रुपैयाँ खर्च हुँदा १५ हजारमात्र आम्दानी हुने अवस्था रहेको भन्दै आमकिसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने बताइन् ।
उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बिमाको अनलाइन भुक्तानी गर्ने गरी निर्णय गरिरहेको बताउँदै उनले किसानका पीडामा मल्हम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको जनाइन् ।
आफू स्वयं किसानकी छोरी भएकाले आमकिसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आमकिसानका पीडामा मल्हम लगाउनु आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।
कागजी प्रक्रियाका कारण किसानले बिमा रकम भुक्तानी पाउन ढिलाइ भएको बताउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको भन्दै राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको पनि जानकारी दिइन् ।
आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पुर्याएको पनि उनले बताइन् ।
मन्त्री साहले दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने धारणा राखिन् । नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुने भन्दै दूधबाट घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनिर आदि उत्पादन गर्न सकिने बताइन् ।
उनले स्वदेशमै रोजगारी सिर्जना हुने गरी काम गर्न सरकार लागिरहेको बताउँदै अहिलेका चुनौती सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताइन् ।