काे हुन् सभामुख निर्वाचित घिमिरे
काठमाडौँ- प्रतिनिधिसभाकाे सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुख निर्वाचित गरेको हो । सभामुख निर्वाचनका लागि संसद्मा मत विभाजन भएको थियो ।
घिमिरेले १६७ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेस नेतृत्वको विपक्षी दलहरूको समर्थन पाएकी उम्मेदवार ईश्वरी न्यौपानेले १०० मतमात्रै पाइन् ।
घिमिरेको राजनीतिक यात्रा
कम्युनिस्ट आन्दोलन हुँदै राजनीतिमा उदाएका उनी लामो समय स्व. नेता मनमोहन अधिकारी र मदन भण्डारीको नजिक भएर काम गरेका थिए । उनले २०४९ सालपछि अधिकारीसँग पार्टीभित्र संगठन विस्तारका लागि काम गरे । त्यसअघि उनी मदन भण्डारीसँगै देश दौडाहामा निस्केको एमालेका नेताहरू बताउँछन् ।
२०५२ सालपछि घिमिरे ओलीनिकट भएर काम गर्दै आएका थिए । ओली पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री भएका बेला उनले सचिवालयमा बसेर काम गरेका थिए ।
२०६६ सालयता घिमिरे ओलीको अत्यन्तै निकटका व्यक्ति हुन् । उनलाई ओलीले नै झापा– २ बाट टिकट दिएका दिए । पार्टीमा भने घिमिरे ओलीभन्दा पनि पुराना नेता हुन् । घिमिरेले ओलीभन्दा अघि नै पार्टीको सदस्यता लिएको एमालेका केही नेता बताउँछन् ।
२०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा–३ मा जन्मिएका घिमिरे २०३१ को झापा विद्रोहपछि राजनीतिमा लागेका हुन् । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज घिमिरे त्यसअघि २०७५ सालमा तत्कालीन नेकपाको प्रदेश १ अध्यक्ष थिए ।
२०५४ सालमा घिमिरे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । गत ४ मङ्सिरमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै घिमिरे प्रतिनिधिसभा सदस्य भए ।
झापाको अर्जुनधारा–६ का घिमिरेले स्वतन्त्र उम्मेदवार नेपाललाई २ हजार २६१ मतले पराजित गरेका थिए । घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा नेपालले २६ हजार ४५५ मत पाएका थिए ।
२०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन् । उनले प्रदेशको संगठन सुधारका लागि महत्वपूर्ण योगदान गर्दै आएको एमालेका एक नेताले बताए ।