Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधबाट समस्या भएको गुनासो

बिहीबार, माघ ५, २०७९

काठमाडौँ–दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।


काठमाडौामा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको औँल्याएका छन् ।


भारतको सब कन्टिनेन्ट एग्रि फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासङ्घले सङ्युक्त रूपमा आयोजना गरेको सम्मेलनमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए ।


दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)मा यस क्षेत्रका देशहरूबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायत समस्या रहने गरेको उनले उल्लेख गरे ।


अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए ।


श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रमा ४० प्रतिशत सिमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए ।


कृषि क्षेत्रको निर्यात लागत निक्कै महँगो भएको र यहाँका धेरै देशहरूमा खुद कृषिजन्य वस्तु आयात रहेको भन्दै उनले खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले सङ्युक्त रूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले व्यक्त गरे ।


दुबई मल्टि कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेनलगायत प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनले उल्लेख गरे ।


यस्तै, उद्योगसचिव डा. तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानीमा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताए । लगानी बढ्दा निर्यात र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनले बताए ।
ज्ञवालीले दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने बताए ।

सम्मेलनमा १२ देशका करिब ४०० जना सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्