Nic Ad Nic Ad
Nic Ad Nic Ad

गल्फ फुटबलको फाइनल खेलअघि भागदौडमा दुई इराकीको मृत्यु, दर्जनौँ घाइते

बिहीबार, माघ ५, २०७९

बग्दाद– इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

 

‘खेल सुरु हुनुभन्दा केही घण्टाअघि ठूलो सङ्ख्यामा फुटबल समर्थक रङ्गशालामा पुगेका थिए र गेटमा भागदौड मच्चिँदा दुई जनाकोे मृत्यु हुनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए,’ बसरा अपरेशन कमाण्डका एक इराकी कर्णेलले नाम नबताउने शर्तमा भने ।

 

रङ्गशालाको अधिकतम क्षमता ६५ हजारभन्दा बढी दर्शक खेल हेर्नका लागि भेला भएपछि सुरक्षा निकायले दर्शकलाई रङ्गशालाभित्र छिर्न रोक्ने प्रयास गरिरहेको समय भागदौड मच्चिएको स्रोतले जनाएको छ ।

 

यसैबीच, इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानी बसरा पुगेका छन्  र प्रान्तीय गभर्नर र अन्य वरिष्ठ अधिकारीहरूसँग २५ औं अरेबियन गल्फ कपको फाइनल खेलको तयारीको निरीक्षण गर्न तत्काल बैठक गरेका छन् । 

 

यसैगरी, जनवरी १६ मा २५ औं अरेबियन गल्फ कपको सेमिफाइनलमा कतारविरुद्ध इराकी राष्ट्रिय टोलीको खेल हेर्न जाँदै गरेका धी कार र बसरा प्रान्तबीचको राजमार्गमा बाक्लो हुस्सुका कारण इराकी फुटबल समर्थक बोकेको बस ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

 

२५ औं अरेबियन गल्फ कप जनवरी ६ देखि बसरामा सुरु भई जनवरी १९ मा टुङ्गिएको छ । – रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्