Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढाका म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

शुक्रबार, माघ ६, २०७९

काठमाडौँ –आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधारिएको टाइमिङसहित पुष्पा भण्डारीले बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा स्वर्ण जितेकी छन् । हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य पदक जितेका छन् ।


शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको टाइमिङसहित नेपालकी पुष्पाले स्वर्ण जितेकी हुन् ।


पुष्पाले यसअघि सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेण्डले सुधार गरेकी हुन् ।


विभागीय टोली एपीएफकी पुष्पाले कात्तिक १ गते नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथनमा चोटग्रस्त भएपछि बीचैमा छाडेकी थिइन् । चार महिनाको बीचमा चोटबाट फर्केर नयाँ कीर्तिमान बनाउन सफल रहेकी हुन् ।


शुक्रबारको स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । 


पुष्पा बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकी पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।


उपाधिसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) पुरस्कार पाएकी छन् । तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार पाएकी छन् ।
यता पुरुषतर्फ हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य जितेका छन् ।


नेपालबाट म्याराथनमा ३ पुरुष र २ महिला तथा हाफ म्याराथनमा २ पुरुष र ३ महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए । म्याराथनमा एपीएफकै सन्तोषविक्रम विष्ट चौथो भएका छतन् ।


हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ चौथो भइन् । राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहिन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्