Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपा : यता न उता

शुक्रबार, माघ ६, २०७९

काठमाडौं– प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव गर्ने समयमा जनता समाजवादी पार्टी (जसपा)ले समर्थन ग¥यो ।

 
प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समयमा भने जसपा देखा परेन । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले जसपा पनि सो न्यूनतम साझा कार्यक्रमप्रति सकारात्मक रहेको तर, प्राविधिक कारणले सार्वजनिक गर्ने समारोहमा सहभागी हुन नसकेको बताएका थिए ।


त्यसपछि सत्ता गठबन्धनका मन्त्रालय तथा प्रदेश भागबण्डा लगायतका बैठकमा जसपा सहभागी भयो । तर, संघीय सरकारको मन्त्रालय भागबण्डाप्रति असहमत भएर जसपा सरकारमा गएको छैन ।


माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुख निर्वाचनमा जसपाको भूमिका ‘गतिशील’ रह्यो । अघिल्लो दिनसम्म जसपाले सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत नदिने भनेको थियो भने निर्वाचनको दिन उनैलाई भोट हाल्यो । अघिल्लो दिन कांग्रेस उम्मेदवारको पक्षमा रहेको जसपा भोलिपल्ट एमाले उम्मेदवारको पक्षमा देखियो ।


मधेस प्रदेशमा भने जसपाका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री यादवलाई मधेस प्रदेशसभामा सोही दिन उपस्थित भएका सबै सांसदले विश्वासको मत दिए । यद्यपि, मुख्यमन्त्री हुने बेलामा भने यादवलाई केन्द्रको सत्ता गठबन्धन तर्फको उम्मेदवार भनिएको थियो ।


त्यसो भए जसपा कता छ ? एमालेले नेतृत्व गरेको सत्ता गठबन्धनमा छ कि विपक्षी कांग्रेसले नेतृत्व गरेको गठबन्धनमा छ ? 
पार्टी अध्यक्ष उपेन्द्र यादव भने अहिले सत्ता गठबन्धन नै नभएको दाबी गर्छन् ।


‘सत्ता गठबन्धन कहाँ छ ? त्यो गठबन्धन नै होइन, एकले अर्कालाई सघाएको मात्रै हो, एमाले र माओवादीबीच पनि गठबन्धन भएको छैन भने हामी (जसपा) गठबन्धनमा हुने कुरै भएन,’ क्यानडा नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले भने ।


त्यसो भए विपक्षी गठबन्धनमा छ त जसपा ? अध्यक्ष यादव आफूहरु सो गठबन्धनमा पनि नभएको बताउँछन् ।


‘त्यो (काँग्रेससहितको विपक्षी) गठबन्धनमा पनि हामी छैनौं, चुनावअघि नै हामीहरु त्यो गठबन्धनबाट निस्केका हौं,’ अध्यक्ष यादवले थपे । उनले आफ्नो पार्टी कुनै पनि गठबन्धनमा नभएको र सत्तामा रहेका दलहरुलाई एकले अर्कालाई सघाएको बताए । 


जसपाले संघीय सरकारमा उपसभामुख पद पाउने आशा गरेको थियो । तर, सो पद पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाइसकेको छ । सत्ता गठबन्धनले जसपालाई केन्द्रमा २ वटा मन्त्रालय दिने गरी छुट्टयाएर राखेको छ । जसपा सो मन्त्रालयप्रति असन्तुष्ट बनेका कारण सरकारमा सहभागी भएको छैन । 


विश्लेषक चन्द्रकिशोर भने अध्यक्ष यादवले प्रतिनिधिसभामा चुनाव हारेका कारण जसपामा अलमल देखिएको बताउँछन् । प्रतिनिधिसभामा सप्तरी –२ बाट उम्मेदवार बनेका यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भएका थिए ।
‘सत्ता गठबन्धनमा जसपाले २ वटा मन्त्रालय पाएको छ, त्यसमा २ जनालाई मन्त्री बनाएर पठाइयो भने पार्टीमा विवाद बढ्न सक्ने अवस्था रहन्छ, यही विश्लेषण गरेर अध्यक्ष यादवले आलटाल गर्नुभएको हुन सक्छ, अध्यक्ष यादवले नै चुनाव जित्नु भएको भए अवस्था फरक रहन्थ्यो,’ विश्लेषक झाले भने । 

 

जसपामा भएको के हो ?

 

समाचार स्रोतहरुले दिएको जानकारी अनुसार जसपा यता न उता हुनुको मुख्य कारण अध्यक्ष यादवले चुनाव नजित्नु नै हो । अध्यक्ष यादवले चुनाव जितेको अवस्था हुन्थ्यो भने उनको नेतृत्वमा पार्टी सहजै सरकारमा जाने थियो । तर, अध्यक्ष यादवले चुनाव हारे ।


आफूले चुनाव हारेपछि अध्यक्ष यादव प्रतिनिधिसभामा जान प्रयास गरिरहेका स्रोतहरुले बताएका छन् । यसका लागि उनले विभिन्न विकल्पमा काम गरेपनि सो सफल हुन सकिरहेको छैन ।


अध्यक्ष यादवले सत्ता गठबन्धनसँग उपराष्ट्रपति पद मागेका थिए । जसपाले उपराष्ट्रपति पद पाएमा अध्यक्ष यादव प्रतिनिधिसभामा छिर्ने बाटो खुल्ला हुने उनको विश्लेषण छ ।


‘उपराष्ट्रपति पद पाएको अवस्थामा सांसद रामसहाय यादवलाई पठाउने र उनको क्षेत्रमा अध्यक्ष .यादवले चुनाव लड्ने योजना बनेको थियो तर, सत्ता गठबन्धनले जसपालाई उपराष्ट्रपति पद दिएन, त्यसैले उसले (जसपाले) अनौठा लाग्ने निर्णयहरु गरिरहेको छ,’ स्रोतले भन्यो ।


जसपा सांसद रामसहाय यादव पार्टी संसदीय दलको नेता पनि हुन् । उनी बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनलाई उपराष्ट्रपति बनाएपछि सो क्षेत्र रिक्त हुने र पार्टी अध्यक्ष यादवले सोही क्षेत्रबाट चुनाव लड्ने योजना बनाइएको स्रोतको दाबी छ ।


गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरु विशेष गरेर दुई ध्रुवमा बाँडिएका छन् । नेकपा एमालेको पहलमा सत्ता गठबन्धन बनेको छ भने विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा अर्काे गठबन्धन बनेको छ । तर, जसपा भने कुनै पनि गठबन्धनमा छैन ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्