कम्युनिस्टको एउटै केन्द्र आवश्यक : प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब एउटै कम्युनिस्ट पार्टी बन्नुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपालका सच्चा कम्युनिस्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताए ।
शुक्रबार सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सबै कम्युनिस्टलाई एक बनाउन छलफल सुरु भएको बताए ।
प्रधानमन्त्रीले भने, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस चलिरहेको छ । नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीबीच अहिले यस विषयमा छलफल सुरू भएको छ । तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ ।’
भेटमा नेकपा (बहुमत) का नेताहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रधानमन्त्री समक्ष राखेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए । प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।’
जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दी रिहाइका विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले अब संसदबाटै राजनीतिक बन्दी रिहाइको काम अघि बढाउने बताए ।