सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रबाट
काठमाडौँ –झापा–२ बाट निर्वाचित एमालेका नेता देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भए । बिहीबारको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुखमा निर्वाचित गरेको हो ।
सत्तारूढ दलमा नेकपा एमालेलाई सभामुख दिने गरी भएको सहमतिअनुसार घिमिरे सभामुख निर्वाचित भएका हुन् ।
उपसभामुखको निर्वाचन माघ ७ गते शनिबारका लागि तोकिएको छ ।
सत्तारूढ दलहरूले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने सहमति गरेका छन् ।
सोही अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय ग¥यो । पार्टीको निर्णयअनुसार, राना मगरले शुक्रबार उपसभामुखको उम्मेदवारी दर्ता गरेकी छिन् ।
एमालेले उम्मेदवार बनाएको देवराज घिमिरेले प्रतिनिधिसभामा १६७ मत ल्याएर सभामुख निर्वाचित भए ।
उपसभामुखको निर्वाचनमा पनि सभामुख निर्वाचनकै जस्तो राजनीतिक समीकरण प्रतिनिधिसभामा कायम रहने अवस्था छ ।
त्यसो हुँदा रास्वपाकी राना मगर उपसभामुख निर्वाचित हुने सम्भावना प्रवल छ ।
तर, संयोग यस्तो बन्यो कि, प्रतिनिधिसभाको सभामुख र उपसभामुखको प्रतिनिधित्व एउटै जिल्ला र उही निर्वाचन क्षेत्रबाट हुने भयो ।
उपसभामुखकी उम्मेदवार राना मगर झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बुटाबारीकी स्थानीय हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको थियो ।
सभामुख घिमिरेको निर्वाचन क्षेत्र पनि त्यही हो । उनको स्थायी बसोबास झापाको अर्जुनधारा नगरपालिका– ६ मा पर्छ ।
राना मगर बालअधिकार, बालबालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएकी छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।
तर, सभामुख निर्वाचनको राजनीतिक समीकरण र नतिजा हेर्दा यादव उपसभामुख बन्ने अवस्था देखिदैन ।
घिमिरे सभामुख निर्वाचित हुँदा सत्तारूढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदहरुले पनि सघाएका थिए ।
उपसभामुखको निर्वाचनमा पनि सोही राजनीतिक समिकरण कायम रहने अवस्था छ ।