चित्र बहादुरको प्रश्न–उपसभामुखका उम्मेदवारको बखान गर्नेहरूले सभामुख किन बनाएनन् ?
काठमाडौँ –राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले ‘कम्फर्टेबल’ राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘अबको राजनीतिक पार्टीभित्रको लडाईं राष्ट्रपतिको छ । सबैलाई ‘कम्फर्टेबल’ राष्ट्रपति र सभामुख चाहिएको छ । राष्ट्रपति र सभामुखले दुधको दुध पानीको पानी अनुसार चलाउन सक्छ,’ केसीले भने ।
संसदीय व्यवस्थाको बखान गर्नेहरूले नै प्रणाली नमान्ने भएपछि समस्या भएको केसीको भनाइ छ ।
दलहरूले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले आपत्ति जनाए ।
‘२ जना महिला उपसभामुखको उम्मेदवार हुनुहुन्छ । सम्बन्धित पार्टीको मान्छेको कुरा सुन्दा उहाँहरू सभामुखको उम्मेदवार पो जस्तो देखेँ’ उनले भने, ‘पार्टीहरूले यति साह्रो बखान गर्नेले सभामुखको उम्मेदवार किन बनाउनुभएन ?’
सांसद केसीले नेपाल पितृसत्तात्मक देश भएकाले महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने चलन रहेको बताए । ‘जो तारिफ भएको छ, जो बखान भएको छ, यो कृत्रिम मात्र हो’ उनले भने, ‘उपसभामुखको अधिकार के हुन्छ ?’