यी हुन जीवन साथीसँग लुकाउन नहुने कुराहरू
काठमाडौँ – धेरै सम्बन्धहरू आफ्ना कुराहरू शेयर नगरेकै कारण टुक्रिन्छन् । चाहे साथी भाइको सम्बन्ध होस् वा श्रीमान् श्रीमतीको । अझ श्रीमान् वा श्रीमतीलाई जीवन साथी पनि भनिन्छ । किनभने यी दुई विवाह पश्चात् मृत्युले अलग नगरेसम्म सँगै जीवन जिउँछन् । जीवनसाथी हरेक व्यक्तिका लागी महत्त्वपूर्ण हुन्छ । तसर्थ जीवनसाथीलाई हरेक कुरा साझा गर्नुपर्ने मान्यता छ । तर केही यस्ता मानिस हुन्छन् । जसले आफ्नो दैनिक जीवनका केही कुरा जीवनसाथीबाट लुकाउने गर्दछन् ।
आफ्नो जीवनसाथीबाट कुनै पनि कुरा लुकाउँदा दाम्पत्य सम्बन्धमा बिस्तारै विश्वास गुम्दछ र दुरी बढ्न सक्छ । तसर्थ यहाँ केही यस्ता विषयको जानकारी गराइएको छ, जसले तपाईँलाई आफ्नो जीवनसाथीसँग लुकाउन नहुने कुराका विषयमा जानकारी दिन्छ ।
– पारिवारिक सम्बन्ध
विवाहपछि अधिकांश दम्पतीबिच परिवारका सदस्यले गरी दिएका व्यवहार र बोलीका कारण विवाद उत्पन्न हुने गर्दछ । जसले गर्दा दुबैबिच झगडा हुने गर्दछ । त्यसैले आफ्नो जीवनसाथीलाई आफ्नो परिवारका सदस्यको व्यवहार र बोलीका विषयमा जानकारी गराउनु पर्दछ । यसले दम्पतीबिचको विवाद, विवाद हुनुअघि नै सुल्झन सक्छ ।
– एक्लै बस्ने बानी
केही मानिस तनाव व्यवस्थापन गर्न, योजना निर्माण, अध्ययन वा मनोरञ्जन लगायतका कामका लागी एकान्त बस्न चाहन्छन् । केही मानिसमा स्वभावतः एक्लै बस्ने बानी हुन्छ । यस विषयमा जीवनसाथीलाई जानकारी नदिँदा सम्बन्धमा असर पर्ने गर्दछ । तसर्थ आफूमा भएको बानीका विषयमा जीवनसाथीलाई खुलेर बताउनु पर्दछ ।
– आफ्ना समस्या वा तनाव
केही मानिस तनाव वा समस्या भने आफ्नो जीवनसाथीबाट ती कुरा लुकाउने गर्दछन् । तर यसो गर्नु सम्बन्धमा घातक हुनसक्छ । त्यसैले कुनै पनि कुरा आफ्नो जीवनसाथीबाट नलुकाई खुलस्त भन्नुपर्छ । जसका कारण तपाईँको पार्टनरले तपाईँका समस्या र सम्बन्धमा आउने अप्ठेरा दुवैको समाधान दिन सक्छन् । त्यसैले आफ्नो जीवनसाथीलाई चिन्ता होला वा रिसाउला भनेर कुनै पनि कुरा लुकाउनु हुँदैन ।
– शारीरिक सम्बन्ध
कतिपय अवस्थामा मानिस शारीरिक सम्बन्धका लागी तयार रहँदैनन् । तर जीवनसाथीले आग्रह वा कर गरी रहेका छन् भनेर उनीहरू यसका लागी तयार हुन्छन् वा झर्केर रिसाएर यसलाई स्वीकार गर्दैनन् । तर तपाईँले आफ्नो जीवनसाथीलाई यस विषयमा खुलस्त भन्नुपर्ने हुन्छ । यसले तपाईँको जीवनसाथीलाई तपाईँको भावना बुझ्न मद्दत गर्दछ ।
– विचार र भावना
हरेक व्यक्तिले आफ्नो विचार र भावनालाई विवाहपछि मात्र होइन विवाह अघिबाटै विवाह तय भएको मानिसलाई भन्न सक्नु पर्दछ । अझ आफूलाई जीवनसाथीबाट के अपेक्षा छ त्यो खुलस्त बताउन सक्नुपर्छ । यसले आफूले जीवन बिताउने मानिसको भावना बुझ्न र आफ्नो भावना र विचार बुझाउन मद्दत गर्छ । यसले भावी जीवनमा कुनै समस्या उत्पन्न हुँदैन ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ ०७:३१
प्रतिक्रिया दिनुहोस्