रुकुमगाड जलविद्युतको काम सकियो, अब परीक्षण गरिने
रुकुमपूर्व –रुकुमपूर्वमा सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको ५ मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो ।
अब आयोजनाको परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो ।
आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावर हाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकलअन्तर्गतको केही काम बाँकी रहँदा परीक्षणकार्यलाई २ सातापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार पवरहाउसभित्रको २ वटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा ७ दिन लाग्ने छ । त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकलअन्तर्गतको २ वटा रनर, २ वटा सफ्टसिल जोड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ ।
यति काम सकिएको खण्डमा २० माघ आसपास आयोजनाको परीक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताए । रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च १ अर्ब ३० करोड रुपैयाँको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुआतीमा आएर सकिएको छ ।
बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको ५ मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ । रासस