शेखर पक्षले उठाए ५ विषय
काठमाडौँ –नेपाली कांग्रेस शेखर कोइराला पक्षले पार्टी नेतृत्वसमक्ष ५ वटा विषय उठाएका छन् ।
आइतबार बत्तिसपुतलीमा बसेको भेलामा समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक विषयबारे छलफल गर्दै ५ वटा विषय उठाएको हो ।
प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी १५ माघमा बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको छ ।
बैठकका सहभागि नेताहरूले यिनै विषयमा केन्द्रीत भएर आ–आफ्नो धारणा राखेका छन् । यस्तै मङ्गलबार पुनः बैठक बसेर समूहको रणनीति तय गरिने जनाइएको छ ।
बैठकमा कोइरालासहित उनी पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापति भेलामा उपस्थित थिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुँदैन भन्ने पक्षमा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र प्रदीप पौडेल मात्र उभिएका थिए । तर उनीहरूले पनि ह्वीप लागेपछि २६ पुसमा मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।
कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्न नमिल्ने तर्क आइरहेका छन् ।
यसैगरी संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दबाब दिनुपर्नेमा पनि नेताहरुले निष्कर्ष निकालेका छन् ।
नेताहरू पार्टी सभापति देउवाले निर्वाचनअघिको गठबन्धनलाई निर्वाचनपछि निरन्तरता दिन नसकेको आरोपसमेत लगाएका थिए । कांग्रेसले यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक राखे पनि २ पटक स्थगित भइसकेको छ । १५ माघदेखि बस्ने केन्द्रीय समिति बैठकमा यो विषयमा समीक्षा हुँदैछ ।
‘चार पार्टी मिलेर स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा चुनावमा गइएको हो । तर चुनावपछि गठबन्धन निरन्तर रहेन,’ बैठकमा सहभागी नेता चन्द्र भण्डारीले भने ।
बैठकमा नेताहरूले स्पष्ट दृष्टिकोणका साथ कांग्रेस नहिँडेको बताएका छन् । यसबारे केन्द्रीय समिति बैठकमा कुरा उठाउने उनीहरूले बताएका छन् ।
नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने र विभागहरू गठन तथा पूर्णता दिइनुपर्नेजस्ता विषयमा पनि सभापति देउवालाई दबाब दिनुपर्नेमा नेताहरू छन् ।