करोडौंमा बनेको माछापोखरी अलपत्र
सुर्खेत –माछाका भुरा उत्पादन गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको १ करोड रुपैयाँ ‘बालुवामा पानी’ सावित भएको छ ।
भेरी नगरपालिका –१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८÷७९ सम्म १ करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ ।
सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछा पालन काम अलपत्र परेको छ । जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएको डिप बोरिङ मेसिन समेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।
त्यस्तै भुरा उत्पादनका लागि हेचिङ पलान्ट समेत अलपत्र अवस्थामा पुगेको छ। आर्थिक आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए । अघिल्लो वर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए । ढिलो फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । भुरा उत्पादन गर्ने भनिएको ठाउँमा रहेका पोखरी अहिले चिरा परेका अवस्थामा रहेका छन् ।
पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन् । पोखरी भित्र राखिएको प्लाष्टिक च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्ति केन्द्रको पहुँचमा बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पारेको कर्मचारी समेत बताउँछन् ।
माछा पालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयवासीको आरोप छ ।