फिरौती दिन तयार हुँदा पनि छाडेनन् अपहरणकारीले
काठमाडौँ– पुसको अन्तिम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ र १३ घर भएका विष्णु र रोहित भारत जान्छन् । सीमावर्ती जिल्ला र आफन्त पनि भारतमा भएका कारण उनीहरू भारत जानु स्वाभाविक थियो । घुम्न र भेटघाटका लागि गएका उनीहरूमाथि जघन्य अपराध होला भनेर परिवारले कल्पना गर्ने कुरै भएन ।
पुस २७ गते घरबाट मोटरसाइकल लिई घुम्न निस्केका उनीहरू नातेदार हुन् । फरक वडामा घर भए पनि एउटै परिवारका दुवै जना घुम्न निस्केपछि कसैले पनि अस्वाभाविक कल्पना गरेनन् । तर, सोही साँझबाट उनीहरू दुवै जनाको मोबाइल अफ भयो ।
मोबाइल अफ भए पनि आफन्तकहाँ गए होलान् भन्दै परिवारले धेरै शंका गरेन । दुवै जनाको परिवारले करिब २ दिनपछि २९ पुसमा मात्र उनीहरू अपहरणमा परिसकेको खबर पाए ।
विष्णु साहका बुबाको मोबाइलमा विष्णुकै नम्बरबाट फोन आयो– उनीहरू हाम्रो कब्जामा छन्, छुटाउन १० लाख रुपैयाँको व्यवस्था गर्नू ।
आफन्तका अनुसार १० लाखबाट माग बढेर २० हुँदै ५० लाखसम्म पुग्यो । तैपनि विष्णुका बुबाले २० लाख दिन तयार रहेको छोराहरूलाई छाडिदिन आग्रह गरिरहे ।
अपहरणकारीले उनीहरूलाई छाड्नका लागि सर्लाही जिल्लाको सीमामा बोलायो । त्यसपछि उनीहरूले फोन गर्ने गरेको फोन अफ भयो ।
यसबीचमा विष्णुका बुबाले प्रहरीलाई मौखिक जानकारी गराइसकेका थिए । मौखिक जानकारी आएपछि प्रहरीले खोजी गर्न थाल्यो ।
भारतीय प्रहरीको समन्वयमा खोजी सुरु गरिए पनि उनीहरूलाई जीवित भेटाउन सकिएन ।
२९ पुसबाट चलाइएको अपरेसन माघ ८ गतेमात्र सफल भयो, त्यो पनि उनीहरूको शवमात्र फेला पारेर ।
भारतको सीतामढी जिल्लाको बेला थानाअन्तर्गत पर्ने पर्सा नजिक गाडिएको अवस्थामा शव रहेको सूचना पाएपछि प्रहरीले उत्खनन् गर्यो ।
विष्णु र रोहितको शव भएको खुलेपछि शनिबार राति नै शव नेपाल ल्याइएको छ । धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
३ जना भारतीय र २ जना नेपालीसहित ५ जनालाई पक्राउ गरिएको क्षेत्रीको भनाइ छ ।
‘हामीले महोत्तरीका २ जनालाई पक्राउ गरेका छौँ भने भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपालमा पक्राउ परेका २ जना विष्णुका साथीजस्तो देखिएको छ, अनुसन्धान अघि बढाएका छौँ,’ डिएसपी क्षेत्रीले क्यानडा नेपालसँग भने ।