ब्राजिलमा भएको ‘विद्रोह नियन्त्रण गर्न असफल’ सेना प्रमुख बर्खास्त
ब्रासिलिया– ब्राजिलको राजधानीमा जनवरी ८ मा भएको विद्रोहबारे केही सैनिक सदस्यले अति दक्षिणपन्थी प्रदर्शनकारीलाई अनुमति दिएको खुलेआम अभिव्यक्ति दिएको केही दिनपछि शनिबार ब्राजिलका सेना प्रमुखलाई बर्खास्त गरिएको छ ।
राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाको आदेशमा ब्राजिलियाली सेनाका जनरल जुलियो सेजर डी अरुदालाई सेनाप्रमुखबाट हटाइएको सेनाको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
उनको स्थानमा यसअघि दक्षिणपूर्वी सैन्य कमान्डका प्रमुख रहेका जनरल टोमस मिगुएल रिबेरो पाइभालाई नियुक्त गरिएको छ ।
लुलाले रक्षामन्त्री जोस मुसियो, चिफ अफ स्टाफ रुई कोस्टा र ब्रासिलियामा नयाँ सैन्य कमाण्डरसँग भेट गरेका थिए । भेटबारे पत्रकारहरूसँग कुरा गर्दै मुसियोले जनवरी ८ को दङ्गाले सेनाको उच्च तहमा ‘विश्वासको स्तरमा समस्या’ उत्पन्न भएको र सरकारले परिवर्तन आवश्यक देखेकोले यो निर्णय गरेको बताए ।
हालैका हप्ताहरूमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले बोल्सोनारोलाई सत्तामा राख्ने प्रयासमा सरकारी भवनहरूमा आक्रमण गर्नुका साथै सार्वजनिक सम्पत्ति नष्ट गरेपछि लुलाले सेनाको आलोचना गरेका थिए।
यस विद्रोहले ब्राजिलमा वामपन्थी र दक्षिणपन्थीबीचको ध्रुवीकरणलाई उजागर गरेको छ ।
ब्राजिलको संसद, राष्ट्रपति भवन र ब्रासिलियास्थित सर्वोच्च अदालतमा आक्रमण गरेका थिएभने आक्रमणकारीहरूले सेनालाई हस्तक्षेप गर्न र राष्ट्रपति चुनावमा लुलासँग बोल्सोनारोको हारलाई उल्टाउन खोजेका दावी गरिएको छ । रासस/एपी
आक्रमण भएको दिन राष्ट्रपति भवनभित्रबाट सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एक कर्णेलले बोल्सोनारोका समर्थकलाई पक्राउ गर्न प्रहरीलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ । उनले सैन्य प्रहरीसँग धैर्यको लागि आग्रह गरेको देखिएको छ ।