Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाकाे मृत्यु

सोमबार, माघ ९, २०७९

सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा १६ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको एउटा ७ तल्ले भवन भत्किँदा ती मानिसको मृत्यु भएको बताइएको छ । त्यस दुर्घटनामा ५ जना बालबालिका पनि परेका छन् ।प्रहरीका अनुसार उक्त भवनमा ७ परिवार बसेका थिए । 

 

स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट १ जनालाई मात्र जीवित उद्धार गरिएको छ ।


प्रहरीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ । यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशंकामा उद्धार जारी रहेको जनाएको छ ।

 

१ दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएकाे सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।

 

सिरियामा जारी द्वन्द्वमा परी करिब ५ लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

 

गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्किँदा ३ जना बालबालिकासहित १० जनाको मृत्यु भएको गृह मन्त्रालयका अधिकारीले जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्