Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध रूपमा नेपाल भित्रिन्छन् खेलाडी

राखेपले बुझाउँदैन विवरण
सोमबार, माघ ९, २०७९

काठमाडौँ– नेपालका साना–ठुला क्लबहरूमा करिब ३० जना विदेशी खेलाडीले क्रिकेट र फुटबल खेलिरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तथ्यांक छ । 


खेल्न नेपाल आउने विदशी खेलाडीले लिनुपर्ने श्रम स्वीकृतिको विवरण राखेपले नबुझाएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । 


गत पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी–२० लिगमा सट्टेबाजदेखि, म्याच फिक्सिङ र आर्थिक चलखेल भएको विषयमा छानबिन सुरु गरेको थियो । अख्तियारले राखेपलाई पत्र काट्दै विदेशी खेलाडीको विवरण ७ दिनभित्रमा सम्बद्ध कागजातसहित पठाउन निर्देशन दिएको थियो । 


अख्यिारको उक्त विषयले खेलाडी कसरी नेपाल भित्रिन्छन् भन्ने पनि आमचासोको विषय बनेको छ । 


अख्तियारले राखेपसँग खेलाडीको विवरण मागेको महिना दिन भए पनि कति खेलाडीले अनुमति लिएर आएका छन् भने प्रमाणसहितको विवरण नबुझाएको श्रम विभागले जनाएको छ । 


रोजगारी र विभिन्न खेल खेल्न आउने विदेशी नागरिकले सूचना गराउँदै श्रम स्वीकृति लिनुपर्ने श्रम ऐनमा व्यवस्था भएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली बताउँछन् । 


नेपाल आउने विदेशी खलाडीले श्रम स्वीकृति र उनीहरू नेपाल आएको सूचनाको आवेदनसमेत नदिने गरेको महानिर्देशक ज्ञवालीले बताए ।


‘राखेपले विदेशी खेलाडीको औपचारिक कागजात बुझाएको छैन । हामीले सबै प्रमाण विभागको साइटमा राखेका छौँ । विदेशी खेलाडीको प्रमाण नभएका कारण राखिएको छैन,’ उनले भने, ‘अख्यिारले पत्र काटेपछि पनि राखेपले विदेशी खेलाडीको विवरण बुझाएको छैन । यो विषयमा विभागले चासो राख्दै आएको छ । तर, राखेपले अहिलेसम्म कुन क्लबमा कति खेलाडी छन् भन्ने विवरण दिएको छैन ।’ 


पछिल्लो समय भएको लिगमा म्याच फिक्सिङ र आर्थिक चलखेल भएको आरोप नेपाल क्रिकेट संघ (क्यान)माथि लागेको छ ।
नेपाल टी–२० क्रिकेट लिगमा विदेशी खेलाडीसमेत सामेल थिए । उनीहरूले नेपाल आउँदा स्वीकृतिसमेत लिएका हुन्छन् कि हुँदैन् भन्ने पनि प्रश्नको विषय बनेको छ । 


तर, क्यानले भने म्याच फिक्सिङ र आर्थिक चलखेलको हल्ला मात्र भएको भन्दै आफनो बचाउ गदै आएको छ । सिबिआईको अध्ययनमा क्यानको लिगमा म्याच फिक्सिङ र आर्थिक चलखेलको प्रयास भएको बताइएको छ । 


विदेशी खेलाडी भित्र्याउँदै आएका विभिन्न क्लब र राष्ट्रिय खेलकुद परिषद्ले समेत स्वीकृतिबिना खेलाडी ल्याउने गरेको आरोप छ । 
श्रम विभागले भनेजस्तै विभागको साइटमा राखेपले खेलाडीका नाममा श्रम स्वीकृति लिएको र कस्ता खेलाडी भित्र्याइएको भन्ने प्रमाण छैन ।


कतिपय खेलाडी भारतको बाटो हुँदै नेपाल आउने भएकाले त्यस्ता खेलाडीको अध्यागमन अनुमतिसमेत नहुने गरेको विभागले बताउँदै आएको छ । 


विदेशी खेलाडीले श्रम स्वीकृतिको विवरण नबुझाएको विषयमा राखेप पनि जबाफदेही देखिँदैन । क्लबहरूसँगै खेलाडीको भिसा र आगमन स्वीकृृतिका विषयमा छलफल गरिरहेको राखेपका सूचना अधिकारी खुसराज दाहाल बताउँछन् । 


विगतमा सीधै क्लबसँग खेलाडीले सम्झौता गरेर आउने भएका कारण उनीहरूको श्रम स्वीकृति लिएको प्रमाण नहुने गरेको उनले बताए । 


गएको १ दशकमा २०० भन्दा धेरै विदेशी खेलाडी विभिन्न क्लबमा आएको राखेपले जनाएको छ । यसरी भित्रिएका खेलाडीको आधिकारिक सूचना र श्रम स्वीकृति नभएको विभागले जनाएको छ । 

 

कानुनमा के छ व्यवस्था ?


नेपाल आउने विदेशी खेलाडीले ९० दिनको भिसा पाउँछन् । यसरी आउने खेलाडीले श्रम स्वीकृतिसँगै नेपालको अध्यागमन विभागलाई अध्यागमन अनुमतिका लागि आवेदन दिएको हुनुपर्छ । 


३ महिनाभन्दा धेरै बस्नुपरेको अवस्थामा सम्बन्धित क्लब र खेलाडी स्वयंले नेपालको अध्यागमनमा जानकारी गराउनुपर्ने कानुनी व्यवस्था भएको श्रम विभागले जनाएको छ । तर, नेपालको कानुनअनुुसार आउने र जाने कुनै पनि विदेशी खेलाडीले सूचना नदिने गरेको विभागले जनाएको छ । 


नेपालमा भित्रिएका खेलाडीले अध्यागमन र विभागमा कानुनअनुसार स्वीकृतिको जानकारी नगराउँदा उनीहरू समस्यामा पर्दा कानुनी उपचार खोज्न समस्या हुने विभागको भनाइ छ । 


श्रम स्वीकृति नभएका कारण जतिसुकै चर्चित खेलाडी भए पनि समस्या पर्दा कानुनी उपचारको बाटो खोज्न समस्या हुन सक्ने विभागको बुझाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्