नेभिगेशन
समाज विविध

अदुवाको बीउ खरिदमा भ्रष्टाचार, गल्याङका तत्कालीन नगरप्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ– स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीउ खरिदको लागत अनुमान प्रचलित कानून बमोजिम नभएको र बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीसहित पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

अदुवाको बीउको दररेट थप गरी खरिद कार्य गरी नगरपालिकालाई १३ लाख रुपैयाँ  थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने काम गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

 

तत्कालीन नगर प्रमुख भुपराज अधिकारीविरुद्ध १३ लाख रुपैयाँ बिगो कायम गरि मुद्दा दायर गरिएको छ  । यसैगरी गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत २ करोड १४ लाख ५० हजार भुक्तानी दिएको देखिएको छ ।

 

यसले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरेको भन्दै निजहरुलाई पटक पटक गरी भुक्तानी भएको परिमाणलाई प्रति किलोग्रामका दरले (नगरप्रमुख भुपराज अधिकारीको तोकबाट बढी भुक्तानी भएकोले सो कट्टा गरी हुन आउने प्रति किलोग्रामको रकम) हुन आउने १ करोड ९७ लाख ७० हजार ४९९ बिगो मागदाबीसहित मुद्धा दायर गरिएको छ ।

 

अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि र र उक्त प्रालिका शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिएको भन्दै उनीविरुद्ध   २ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको बिगोसमेत जफत गर्न माग गरेर अदालतमा आरोपत्र दायर गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध