कहिले चढ्न पाइएला २५ तल्लाको धरहरा ?
काठमाडौँ– साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।
सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो ।
चिनियाँ निर्माण कम्पनी जिआइटिसीररमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउँछन् ।
हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ ।
धरहराका विशेषता
धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत तीन अर्ब आठ करोड रुपैयाँ रहेको जनाइएको छ ।
जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । भूमिगत तल्लासहित ९२ दशमलव २५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।
वैशाख १२ गतेको धरहरा क्षेत्र
विसं २०७२ वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ । त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो ।
विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो । गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ ।
भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ ।
यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिए । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ ।
धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ)लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ ।
धरहराको इतिहास
विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१ दशमलव ८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ)ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।
विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।
हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्बिर खिच्ने भीड देखिन्छ । तस्बिर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गर्छन । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ ।