३३२ जना फरार प्रतिवादी पक्राउ
बारा –जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारबाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । अदालतबाट कैद तथा जरिवानाको फैसला सजाय भई कारबाहीको दायराबाट भाग्दै लुकिछिपी बस्दै आएका ठुलो सङ्ख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका –१ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र ७ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ । उनीलाई बैकिङ कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो ।
पचरौता नगरपालिका –२ बस्ने एजाजुल हक अन्सारीलाई हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय भएको छ । यो सजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका –१ बस्ने बासु चौधरी लगायत भएको डिएसपी थापाले जानकारी दिए ।
पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उनले बताए । प्रतिवादी पक्राउ परी कारबाहीको दायरामा आएसँगै फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश दिएको छ ।