Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक अभियन्ताको नाममा म्यानपावर व्यवसायीसँग बार्गेनिङ, माग पूरा नहुँदा हुलहुज्जत र आक्रमण

मंगलबार, माघ १०, २०७९

काठमाडाैँ– सोमबार वैदेशिक रोजगार विभागमा सामाजिक अभियन्ताको एउटा समुह केही रोजगार पीडित भनिएका कामदार लिएर पुगे । आफूलाई अभियन्ता भन्ने हेमराज थापाले नेतृत्व गरेको उक्त समुहले डेढ घण्टा विभागको काम नै ठप्प पारेको विभागका सूचना अधिकारी कृष्ण भुसालले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्किएका करीब २० जना कामदार लिएर विभाग पुगेका थापाले विभागको गेटमा केही बेरा नाराबाजी गराएका थिए ।

विभागमा आवेदन दिएका र केही व्यक्तिले ठगेका कामदार लिएर छलफल गर्न भन्दै उनीहरु विभागमा पुगेका थिए । 

‘सरकारले वैदेशिक रोजगार ऐनअनुसार नै रोजगारपीडितलाई न्याय दिदै आएको छ । तर, अभियन्ताले भने मुद्दा प्रक्रियामा रहेका कामदार ल्याएर विभागमा होहल्ला गरेका छन्’, भुसालले भने । 

सरकारले वैदेशिक रोजगारी क्षेत्रका समस्या कानुनबाटै समाधान गदै आएको उनले बताए । ‘वैदेशिक रोजगार ऐनमा

कामदार ठगिए क्षतिपूर्ति भराउन पाउने व्यवस्था छ । जुन म्यानपावरले ठगि गरेको हो त्यो म्यानपावरले व्यवसायी सञ्चालन गर्न राखेको धरौटीबाट क्षतिपूर्ति भराउने व्यवस्था छ’, भुसालले भने । 

सामाजिक अभियन्ताले वैदेशिक रोजगार ऐनभन्दा बाहिर गएर कामदार न्याय दिने खोज्दा समस्या हुन थालेको उनले बताए । 

manpower_canadanepal1674577219.jpg

विभागमा हेमराजको समुह पहिलो पटक आएको होइन । दुई वर्षअघि महानिर्देशक कुमार दाहालको कार्यकक्ष घेर्ने र कालो मसो दल्ने भन्दै धम्क्याउन उनी केही कथित अभियान्ता लिएर गएका थिए । 

सोमवार विभागमा होहल्ला गराएका थापाले मंगलबार समाखुशीको खोज म्यानपावर पुगेर आक्रमणमा उत्रिए । 

समाखुशीस्थित खोज म्यानपावरमा छलफलका लागि पुगेका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसहित अन्य पदाधिकारीमाथि अभियान्ता थापाको समुहले आक्रमण नै गर्‍यो । अभियन्ताको आक्रमणबाट केही म्यानपावर व्यवसायीहरु सामान्य घाइते भएको संघले जनाएको छ ।

थापासहित करिब ९० जनाको समुहमा खोज म्यानपावर प्रालि पुगेका उनीहरुले छलफलका लागि पुगेका संघका पदाधिकारीलाई आक्रमण गरेको संघका उपाध्यक्ष रोशन कटुवालले जानकारी दिए ।

पछिल्लो समय रोजगारपीडित खोज्दै अभियन्ता थापाले म्यानपावर व्यवसायीमाथि आक्रमण गर्न थालेको कटुवालको आरोप छ ।

‘मलेसियाबाट फर्किएर आएका १९ जना कामदारको प्रतिनिधि बनेर म्यानपावर पुगेका थापासहितका अभियन्ताले छलफल हुनुअगाडी नै मुख छाडदै हात छाडे । खोज म्यानपावरले मलेसिया फर्किएका कामदारको क्षतिपुर्ति दिने बताइरहेको थियो’, कटुवालले भने ।

‘पीडित कामदारलाई वैदेशिक रोजगार विभागकोे रोबरमा क्षतिपूर्ति दिने भनेपछि अभियन्ताहरु आवेगमा आएर व्यवसायीलाई हातपात गरे । अभियन्ताले यस्तो गर्छन् ? भन्ने हाम्रो प्रश्न हो’, उनले भने । 

थापासहितका केही अभियन्ताले खोज म्यानपावरका सञ्चालकसँग फोनमा पैसा मागरेको र नदिने भनेपछि अभियान्ताहरुले समुह बनाए आक्रमण गर्ने खोजेको व्यवसायीहरुको आरोप छ । 

दुई साताअघि देवान म्यानपावर प्रालिले मलेसियाबाट उद्दार गरी फर्काएका कामदार उनै थापाको समुहले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट होेटल पुर्‍याएर आफुले उद्धार गरेको बताउँदै म्यानपावरसँग बार्गेनिङ गरेका थिए ।

यही साता थापाको समुहले चाहाविलको एक होटलमा एक जना म्यानपावर व्यवसायीलाई आक्रमण गदै जग्गाको धनीपुर्जा मागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ती व्यवसायीको नजिकै बसेका थापासँग केही कामदार थिए । 

सरकारले सुरक्षा दिनुपर्छ: व्यवसायी 

पछिल्लो समय सामाजिक अभियन्ताका नाममा म्यानपाव व्यवसायीहरु पीडित भइरहेको उनीहरुले गुनासो गरेका छन् । 
‘म्यानपावर व्यवसायीहरुले आर्थिक ठगि गरे उनीहरुलाई कारवारी गर्ने वैदेशिक रोजगार ऐन छ । सोही ऐनअनुसार सरकारले कारवाही गर्नुपर्ने हो । तर, सामाजिक अभियन्ताको नाममा व्यवसायीमाथि आक्रमण हुन थालेको छ’, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने । 

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न सरकारले सुरक्षा दिनुपर्ने उनको भनाई छ ।

‘कानुनभन्दामाथि टेकेर अभियन्ताले म्यानपावरमा आक्रमण गरिरहेका छन् । यो विषयमा गृहमन्त्रालयमा जानकारी गराए पनि प्रहरी प्रशासनले वास्ता गरेको छैन । जसका कारण अभियन्ताको मनोबल बढ्दै गएको छ’, भण्डारीले भने ।
म्यानपावर व्यवसायीहरुले गृहमन्त्रालय र सम्बन्धीत जिल्ला प्रशासनसँग सुरक्षा मागे पनि सम्बन्धित पक्षले ध्यान नदिएको उनको आरोप छ । 

गएको ३ वर्षमा सामाजिक अभियन्ताको नाममा ७० भन्दा बढी म्यानपावर सञ्चालक र व्यवसायीमाथि आक्रमण भएको संघले जनाएको छ । 

सामाजिक अभियन्ताले रोजगारपीडित कामदारका नाममा दुख दिने गरेको गुनासो म्यानपावर व्यवसायी गर्ने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकन्ता आचार्यले बताउँछन् । 

सामाजिक अभियन्ताले दुःख दिएको विषयमा सम्बन्धित पक्षलाई जानकारी गराएको उनको भनाइ छ । 

कानुन बाहिर गएर काम गर्ने छुट कसैलाई नभएको र कानुनलाई हातमा लिएर अराजकता गर्नेलाई कानुनी कारवाही हुने आचार्य बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २१:५५
प्रतिक्रिया दिनुहोस्