Nic Ad Nic Ad
Nic Ad Nic Ad

नमुना सहर बनाउने बुर्तिबाङ बजारको काम सुस्त

बुधबार, माघ ११, २०७९

बागलुङ- साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको ७ वर्ष बितिसक्यो । तर, अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ ।
हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गरिएको छ । तर, हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुनसकेका छैनन् । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये नमूनाका रूपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷७३ देखि पूर्वाधार थालिएको हो । सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत काम अझै हुन नसकेका स्थानीय बताउँछन् ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोषजनक नभएको बताए । ‘बजार क्षेत्रमा खोलाको जोखिम छ, यसतर्फ ध्यान गएको छैन’, उनले भने ।  
बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न नयाँ सहर आयोजना सञ्चालन गरिएको हो । आव २०७२÷७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । करिब १ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ । 
कुत्थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ । बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन् । व्यवस्थित बसोबास निर्माण र पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताए ।
‘बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन’, उनले भने, ‘४ वटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।’ आयोजनाको १ हजार रोपनी जग्गा किन्ने लक्ष्य छ । आयोजनाका लागि चालु आवमा १५ करोड ६० लाख रुपैयाँ विनियोजन भएको अधिकारी बताउँछन् । 
हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुन सकेको छैन । बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्