Nic Ad Nic Ad
Nic Ad Nic Ad

७ वर्षमा ५ पटक म्याद थपिदा पनि भएन कालोपत्र

बुधबार, माघ ११, २०७९

पर्वतराष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको ७ वर्षसम्म कालोपत्र हुन सकेको छैन ।

२ वर्षमा कालोपत्र गर्ने सम्झौता भएकामा ७ वर्षमा ५ पटकसम्म म्याद थप्दासमेत राजमार्गको कालोपत्र हुन सकेको छैन । ठेकेदार कम्पनीको लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि ५ पटकसम्म म्याद थप्दासमेत कालोपत्र सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ ।

सदरमुकाम खण्डको सडक कालोपत्र हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचनासमेत भएको छ । सडकको ट्रयाक खुल्दा समेत यो खण्डमा सडक कालोपत्र हुन नसकेको हो । नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रहेको यस सडकको खहरेखोलादेखि बिहूँ सापकोटा चोकसम्मको सडक १७ किलोमिटर सडक पकट–पटक म्याद थप्दा पनि कालोपत्र हुन नसकेको छ ।

कालोपत्रका लागि १४२ किलोमिटरमध्ये घोडाँबाधेदेखि बागलुङ सदरमुकाम बागलुङ बजारसम्म रहेको २५ किमी सडकमध्ये गत वर्ष मात्रै सदरमुकामतर्फको ४ र बिहूँतर्फको ४ गरी आठ किमी मात्रै सडक कालोपत्र गरेर छोडेपछि ठेकेदार कम्पनी सम्पर्कमा आएको थिएन । अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थपेको ठेक्का आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ठेक्का रद्द गर्ने चेतावनीपछि बल्ल काम देखिन थालेको छ । असारसम्म दुवै उक्त खण्डका २ निर्माण व्यवसायीलाई अन्तिम पटकका लागि म्याद थपिए पनि कामले तीव्र गति पाउन नसकेपछि ठेक्का रद्द गर्ने चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजनाका कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार असारसम्म ठेकेदार कम्पनीलाई म्याद थप्दासमेत कामले तीव्रता नपाएपछि ठेक्का तोेड्ने चेतावनी दिइएको हो । 

७ वर्षमा ५ पटक म्याद थप्दासमेत सडक कालोपत्र हुन नसक्दा स्थानीयहरूले अहिले धुलोको सास्ती खेप्दै आएका छन् । सडकमा यातायातका साधन गुड्न थालेको २६ वर्ष बित्दासमेत सडक सम्पन्न नहुनु दुःखद रहेको स्थानीय जङ्गबहादुर कार्कीले गुनासो गरे । 

मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहूँ खण्ड र बिहूँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक २ खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

अहिले बिहूँ खण्डमा सडक सम्याउने र नाली निर्माण गर्ने काम भइरहेको छ भने खहरेतर्फ बेस बिच्छ्याउने कार्य भइरहेको छ । कूल १ हजार ७७६ किलोमिटर राजमार्गमध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये १७ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ । अहिले लोकमार्गको घोडाबाँधेदेखि गलकोटसम्मको कालोपत्र सडक मर्मत कार्य भइरहेको छ । बाढी तथा पहिराले क्षति पुर्‍याएको घोडाँबाधेदेखि गलकोटसम्मको सडक ५० करोड रुपैयाँमा ठेक्कामा गएर मर्मतको काम थालिएको हो । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्