राष्ट्रिय सभा उपनिर्वाचन : एमालेका दसौदी र कांग्रेसका आचार्यले गरे मनोनयन दर्ता
दाङ –लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदी र नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले बुधबार मनोनयन दर्ता गरेका हुन् ।
दसौदीको समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल छन् ।
मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुगेका थिए ।
यस्तै, नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । उनी रोल्पाका पूर्व सभापति हुन् ।राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ ।नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।