Nic Ad Nic Ad
Nic Ad Nic Ad

तरकारी उत्पादन गर्न रोङ गाउँपालिकालाई एक करोड सहयोग

बुधबार, माघ ११, २०७९

मङ्गलबारे–सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ ।

तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए । कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध हुने भएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माको पहलमा कार्यक्रम स्वीकृत भएको अध्यक्ष स्याङ्बोको भनाइ छ । गाउँपालिका तराई र भारतसँग सीमा जोडिएकाले यहाँबाट तरकारी निर्यात भइरहेको छ । ढुवानी सस्तो पर्ने भएकाले भारतीय व्यापारीहरु यही आएर खरिद गर्ने गरेका छन्  ।

कम लागतमा गुणस्तरीय तरकारी उत्पादन गर्ने गरी काम सुरु गरिने गाउँपालिकाको भनाइ छ । यो क्षेत्रमा तरकारी उत्पादन राम्रो हुने गरेको छ । यहाँ उत्पादन भएको तरकारी झापा, मोरङ, सुनसरी हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ ।

नेपालमा रासायनिक मल प्रयोग भएका भारतीय तरकारी आयात भइरहेको र त्यस्ता तरकारीले स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको भन्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले आफूहरुले प्राङ्गारिक मल नै प्रयोग गर्ने बताए ।

स्थानीय उत्पादनलाई आयातित तरकारीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी कार्यक्रम सञ्चालन गरिने उनको दाबी छ । किसानलाई बिउ र कृषि औजार अनुदानमा उपलब्ध गराइने भएकाले तरकारी उत्पादन भारतको तुलनामा सस्तो पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्