Nic Ad Nic Ad
Nic Ad Nic Ad

'राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका हाैँ'

बिहीबार, माघ १२, २०७९

नेपालगन्ज- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, 'प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो । तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।'

'संसद्मा गुण र दोषका आधारमा हामीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छाैं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन', नेता महतले भने ।

नेपाली कांग्रेस नेता डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए ।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्यांकनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट गरे ।

उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता इच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्