नेभिगेशन
समाज विविध

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

काठमाडौँ- राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । 

राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ । 

विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताए । 

उनले भने, 'सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भीड घटाउन हामीले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदै छ ।' 

कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ । राहदानी विभागमा अबका दुई–तीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ ।

विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिएका थिए । राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ ।

अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । 

राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध