नेभिगेशन
समाचार

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व: मेयर बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरूलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको उनको भनाइ थियो । अहिलेको युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरूको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरू लोप हुँदै जाने उनले बताए । 

काठमाडौँ उपत्यकाबासीलाई आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन उनले आग्रह गरे । उनले भने, ‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो कि जस्तो लाग्छ । हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने बिस्तारै अब आउने दिनमा अझै गाह्रो हुन सक्छ ।’

मेयर बालेनले सभ्यता र संस्कृतिको जगेर्ना गर्न महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौँ महानगरपालिकाको दायित्व र कर्तव्य भएको पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार