Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुनावमा न्यु मिडियाको दुरुपयोग भएन : अध्यक्ष बस्नेत

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका छन् । 

बिहीबार काठमाडौँमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाजलगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको आमनिर्वाचन–२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका हुन् । 

उनले निर्वाचनअघि उम्मेदवार र दलहरूले ‘न्यु मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग गर्ने हुन् कि भन्ने त्रासदी भए पनि परिणाम त्यस्तो नभएको स्पष्ट पारे । 

निर्वाचन गराउन सरकारी संयन्त्रहरू प्रभावकारी देखिएको उनले उल्लेख गरे । आफूहरूले चुस्त, दुरुस्त ढंगले काम गरेकाले तुलनात्मक रूपमा कम अप्ठ्यारो भएको उनले बताए ।

‘यो चुनावमा खास गरी न्यु मिडियाका प्रभाव, उपस्थितिका कारणले धेरै नै समस्या पर्छ कि, निकै ठुलो हो हल्ला हुन्छ कि, एक दलविरुद्ध अर्को दल, एक नेता बिरुद्ध अर्को दल, अर्को नेताले सामाजिक सञ्जाललगायत अनलाइन र न्यु मिडियाको साह्रै ठुलो दुरुपयोग हुन्छ कि भनेर त्रासदी थियो । तर त्यस्तो देखिएन । त्यसको अर्थ हाम्रा संयन्त्रहरू प्रभावकारी नै देखिए’, उनले भने ।

उनले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति रोक्नका लागि आवश्यक परे विद्यमान कानुन सच्याउनुपर्ने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्