देशको अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक: प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए ।
‘अहिले हामी विशिष्ट अवस्थामा छौँ । आर्थिक रुपले परिसूचकहरु त्यति राम्रो छैन, चिन्ताजनक छन’, प्रधानमन्त्रीले भने, ‘यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जसलाई मैले चुनौतिको विषय बनेको छ ।’
सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए ।
‘सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु’ उनले भने ।
निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मारवाडी सेवा समाजले बनाउन लागेको ३ सय श्ययाको अस्पतालमा सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।