Nic Ad Nic Ad
Nic Ad Nic Ad

काेराेनाका कारण बन्द भएकाे टिपताला नाका अझै खुलेन

सीमावर्ती क्षेत्रका बासिन्दाकाे दैनिकी प्रभावित
शुक्रबार, माघ १३, २०७९

ताप्लेजुङ– कोरोना संक्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन ।

चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका ३ वर्षदेखि बन्द छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।

लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ ।

यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउ बजारबाट आयात गर्दै आएका थिए । गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउ बजारमै लगेर बेच्ने गरेका थिए ।

दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभ खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ ।

व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहज रूपमा बजार लैजान सकिएको छैन ।

खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङलिङबाट लैजानुपर्ने बाध्यता छ । फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ओलाङचुङगोलामा २०० पर्छ । अरू सामानको मूल्य पनि उत्तिकै महँगो छ ।

‘नाका बन्द हुँदा चिराइतोलगायत जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन् । पशुपालकलगायत व्यापार व्यसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ,’ ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भने ।

उनका अनुसार सदरमुकाम फुङलिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङचुङगोला पुर्‍याउन प्रतिकिलो ६० रुपैयाँसम्म ढुवानी भाडा लाग्छ । याङ्मा पुर्‍याउँदा अझ बढी लाग्छ ।

याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् । यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी संकलन तथा व्यापार र गलैँचा उत्पादन हो ।

घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउ बजारमा लगेर बेच्ने गरेका थिए ।

रिउ बजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए । तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ ।

यहाँका उत्पादन नेपाली बजारमा पुर्‍याउन भौगोलिक रूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयबासी बताउँछन् ।

यता, ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले संकलन गरेको चिराइतोलगायत जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो ।

अहिले झापाको बिर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ । कोभिड–१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयबासीको भनाइ छ ।

सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरू बताउँछन् ।

सदरमुकाम फुङलिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झन्डै २ दिन लाग्छ । फुङलिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ ।

ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन ।

यता, याङ्मा, घुन्सा र थुदाम पुग्न २ देखि ३ दिन लाग्छ । ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्