‘यत्रा छोरछोरी पायाँ, आज कपाल दुख्यापछि पानी खुवाउन्या कोइ छैनन्’
‘नि कै छै भाउ’ एकाबिहानै आमाको सोधाइले मनमा कौतूहल बढाएको थियो । आमाको फोन प्रायः दिउँसोमात्र आउँथ्यो । त्यस दिन बिहानै फोन आएपछि मैले ठिक छु आमा भनेर जबाफ फर्काएँ ।
‘हडौनो सेतो मएल पढ्यापछि भाइर धेकिनैन भित्र समस्या अर्छ,’ आमाले अर्को वाक्य भन्नुभयो ।
यो वाक्य मेरा लागि अझै कडा भइरहेको थियो । आमाले शरीमा भएको मयल (मैलो)सँग के कुरा जोड्न खोज्दै हुनुहुन्छ, मलाई थाहा भएन ।
आमाले भनेजस्तै शरीरमा भएको कालो मैलो सबैले देख्छन् । त्यसैले अपवादबाहेक कसैले पनि कालो मैलो देखाउन चाहँदैनन् । तर, सेतो नदेखिने मैलोले शरीरमा कालो मैलोझैँ पार्ने असर त पारिरहेकै हुन्छ ।
आमाले कुन प्रसंग जोड्न मलाई यो कुरा भनिरहनुभएको छ भन्ने लागिरहेको थियो र मैले तत्काल प्रतिप्रश्न गरेँ, ‘भनेको बुझेन नि आमा मैले !’
‘क्या बुझ्न्या छि त तँ, अबुझ भई गै क्या ?’ आमाको अर्को प्रश्न ममाथि तेर्सियो ।
आमो प्रश्नले मनमा बढेको कौतूहलको सीमा नाघेको थियो । तैपनि आमाको भनाइको मर्म मैले बुझ्न सकिरहेको थिइनँ ।
‘भाबेरी फोन अरुँला ।’ आमाले फोन राख्नुभयो । बिहानै आएको टेलिफोनले मेरो मनमा जगाएका प्रश्नहरूको भारी कसरी बोक्नु ?
दिनभरि आफ्नो कामको तनावमा रहने मैले आमाको ‘भाबेरी’ कसरी पर्खनु ? आमाले भनेको ‘भाबेरी’लाई हामीले बेलुकी भन्छौँ । बिहान आएको फोनको उत्तरका लागि अथवा आमाको मनोभावना बुझ्न मैले बेलुकीसम्म कुर्नुपर्ने थियो ।
आमाका प्रश्नको भारी बोकेर अफिस पुगेँ । दैनिकजस्तै अफिसको काममा संलग्न भइयो । दिनभरि आमाका प्रश्नहरूसँग म निकैबेर अन्तरसंघर्ष गरिरहेको थिएँ ।
हजुरआमाले आमालाई ‘लाटी’ भनेर बोलाउनुहुथ्यो । एक त नजिकको स्त्री जातिलाई बोलाउने मायालु शब्द हो भने अर्को केही पनि थाहा नभएको स्त्रीको विशेषण हो ।
हजुरआमाले ‘लाटी’ भनेर बोलाउने मेरी आमाको प्रश्नले मलाई सोच्न बाध्य बनाएको छ । म दिनैभरि सोचिरहेँ– मेरी ‘लाटी’ आमालाई पनि यस्ता प्रतीकात्मक भाषा बोल्न आउने रहेछ ।’
दिउँसो नै मैले एक पटक टेलिफोन नघुमाएको होइन । आमाको फोन लाग्यो । तर, फोन घरमा आमा बाहिर भएकाले आमाको फोन रिसिभ भएको थिएन ।
आमाले बेलुकी आएर मेरो ‘मिस्ड कल’ देखेपछि फोन गर्ने अपेक्षा मलाई थिएन । किनकि मलाई थाहा छ– आमाले टेलिफोनको रिङ बजेपछि हरियोले उठाउने र रातोले काट्नेबाहेक धेरै जान्नुभएको छैन ।
बुबालाई पढ्न पठाउँदा आमा घरको काममा हुनुहुन्थ्यो रे । मेरो जन्म भएपछि आमाले मात्र होइन, बुबाले पनि पढ्न छाड्नुभयो ।
घरको काममा व्यस्त हुने मेरा आमाबुबाले मलाई भने निरक्षर छाड्नुभएन । आमालाई पनि हामीले धेरै पछि आफ्नो नाम लेख्नेसम्म बनाएका छौँ ।
आमाले लेख्ने नाम सबै अक्षर जानेर होइन । नेपाली बाह्रखरीका साउँ अक्षर र ‘आ’कारभित्रका केही अक्षरमात्र चिनाएका छौँ ।
नहतारिने ठाउँमा आमाले आफ्नो नाम लेख्नुहुन्छ । अलि चाँडो काम गर्नुपर्ने स्थानमा आमाको औँला नै अग्रसर हुन्छ ।
आमाको टेलिफोन र आमाले सोधेको प्रश्नको उत्तर पनि आउने अपेक्षामा मैले दिन बिताएँ ।
पृथ्वीले आफ्नो १ चक्रमध्ये आधाउधी घुमेर उकालो लागिसकेको थियो । अँध्यारो हुँदै जाँदा म घरतिर लागेँ ।
म बाटोमा हुँदा नै आमाले फोन गरिसक्नुभएको रहेछ । मैले पो थाहा पाइनँछु । दिनभरि आमाको फोन आउला भनेर मोबाइलको स्क्रिन हेरिबसेको म हुस्सुलाई जब तिनै आमाको फोन आयो, थाहै पाइनँ ।
काठमाडौँको नयाँ बानेश्वर, तिनकुने र कोटेश्वरमा हुने सवारी जामले मलाई फोन कसको हो भनेर हेर्ने फुर्सदसमेत दिएको थिएन ।
गोजीमा रहेको मोबाइलमा बजेको घन्टी मैले महसुस त गरेँ । तर, यति धेरै जाम थियो कि उठाउने अवस्था नै बनेन । त्यही पनि आमकै फोन भन्ने थाहा पाएको भए त बाइक अलि छेउ लाएर कलब्याक गर्दो हुँ । तर अरू कसैको होला भन्ने भएपछि घर पुगेरै कल गरौँला भन्ने भयो ।
घर पुगेर हेरेको त आमाको फोन रहेछ । मैले लुगा फुकाउनुभन्दा पहिला नै आमालाई फोन गरेँ । १ रिङ बजिनसक्दै आमाको आवाज सुनिसकेको थिएँ ।
‘क्या खाई त भाउ आज ?’ दिनभरि मैले खाएको विवरण सुनाउन सकिनँ । मलाई आमाको उत्तर सुन्न हतार थियो ।
‘मैले त छकालदेइ केइ खायाकी छैन, बैराग लायो, तेरा बाले पनि नापै खाया र ढुली गया, मै कन निद पनि आयोन,’ आमाले आफ्नो दैनिकी सुनाउँदै हुनुहुन्थ्यो ।
मैले आमाको कुरा रोकेर सोधेँ, ‘बिहानको सुकिलो मइल क्या हो भन्यू आमा ?’
गलल्ल हाँस्नुभयो, ‘बिच्छ्या छैनै क्या ।’
‘किन बिच्छिउँला, क्या हो भन्यू बरु । ’
‘बैराग लाग्दा हो भाउ, काल कटायाँ र जत्काल बस्याँ, यत्रा छोरछोरी पायाँ, आज कपाल दुख्यापछि पानी खुवाउन्या कोइ छैनन् । भाइर देख्न्याले फलाना छोरछोरी शहर छन् भन्ना, कमाइकाज निकै छ भन्ना । तमीहरू एकचोटि फोन अर्दाइनौ, जत्काल बसीकन नबस्या जसो, हडौनो सुकिलो मइल पड्या जसौ भएन् त ?’
छोराछोरी भएर पनि बुढेसकालमा साथमा कोही नभएको गुनासो थियो आमाको । आमाले केही वर्षपछि पुनः यस्तो वाक्य प्रयोग गर्नुभएको थियो ।
केही वर्ष पहिलासम्म म मात्र गाउँबाहिर थिएँ । पत्नी र छोराछोरीसहित बाहिर बसेको भन्दै गाउँकाले बुबाआमालाई अत्यास लाग्ने गरी कुरा काट्दा रहेछन् ।
सबैका छोराछोरी आमाबासँगै भएको देखेर आमाले साह्रै गुनासो गर्नुहुन्थ्यो । पछि बिस्तारै सबैले घर छाड्न थाले । घर मात्र छाडेनन्, धेरैले पत्नी लिएर भारतका विभिन्न शहरमा पसेका छन् ।
उनीहरू पनि त्यसरी हिँडेपछि मेरीमात्र होइन, अहिले गाउँका सबै आमाको एउटै गुनासो छ ।
अरूहरूको पनि त्यस्तै देखेपछि मेरी आमाले गुनासो गर्न छाड्नुभएको थियो । तर, आज किन त्यो गुनासो दोहो¥याउनुभयो ? आमाले गुनासो दोहोर्याएपछि एक मनमा आशंका पनि छ– अब घरै आएर हामीसँगै बस भन्नुहुन्छ भन्ने । अर्को मनले आफूले जन्माएकाहरूलाई राम्रो शिक्षादीक्षा र उज्जवल भविष्यका लागि केही समय बाआमाबाट अलग भएर बस्नु कुनै गल्ती होइन भनिरहेको छ । आमालाई पनि त त्यस्तै लाग्दो हो नि !