३ वर्षदेखि डिजेल मात्रै ल्याइँदै आएकामा अब पेट्रोल पनि पाइपलाइनमार्फत ल्याइने
काठमाडौँ– नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकहरू निर्माण सुरु गरेको छ ।
निगमको मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगन्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण सुरु भएको हो ।
निगमले मोतीहारी–अमलेखगन्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको डिजाइन डिजेल र पेट्रोल दुवै ल्याउने गरी भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।
बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अमलेखगन्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरूको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण सुरु गरिएको बताए ।
उनले दोस्रो चरणको योजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त लगानी गर्ने गरी सम्झौता भएर काम अघि बढेको जानकारी दिए ।
दुइटा पेट्रोल ट्यांकमध्ये निगम र आइओसीले १/१ वटाको लागत बेहोर्ने उनले जानकारी दिए । पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने यादवले बताए ।
निगमले करिब ७५ करोड भारतीय रूपैयाँ खर्च गर्ने अनुमान गरिएको जानकारी दिँदै उनले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायर फाइटिङ सिस्टम, ओडब्ल्युएस र पिएमसिसी कक्षको निर्माण गर्ने बताए ।
१ अर्ब ५४ करोड भारतीय रूपैयाँ बराबर निगमको खर्च हुने अनुमान गरिएको बताउँदै उनले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्निकल खर्चमा मासिक १५ करोड रूपैयाँ बचत हुने जानकारी दिए ।
अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक करिब २ अर्ब रूपैयाँ बचत भएको बताइएको छ । दोस्रो चरणको भर्टिकल ट्यांक निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल आयात गरिने उनको भनाइ छ ।
प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १०० किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोल लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण हुने जानकारी दिए ।
उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माणसमेत हुने बताए ।
अहिले डिजलको भण्डारण क्षमता १९ हजार ८०० किलोलिटर र पेट्रोलको ३४ सय किलोलिटर छ ।
उनले आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी ३ वटै पदार्थको आयात पाइपलाइनबाटै हुने जानकारी दिए । अमलेखगन्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुने बताउँदै उनले यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवान भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न समेत सहयोग पुग्ने बताए ।
३ वटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७०० ट्यांकर आवतजावत हुने जानकारी दिँदै उनले दोस्रो चरणको निर्माण सम्पन्न हुँदा अमलेखगन्जको सम्पूर्ण काम अटोमेटिक रूपमा हुने बताए ।
अहिले पाइपलाइनको ४२ प्रतिशत मात्र प्रयोग भइरहेको छ । दोस्रो चरणको निर्माण सम्पन्न हुँदा पूर्ण रूपमा प्रयोग हुने उनको भनाइ छ ।
‘मेनुअल रूपमा ट्यांकरमा पेट्रोल, डिजेल भर्दा तेल पोखिने र तेल पोखिँदा आगलागी जस्ता समस्या हुन सक्ने भएकाले अटोमेटिक मेसिनमार्फत ट्यांकरमा तेल भर्दा बढी वा घटी नहुने हुन्छ,’ उनले भने, ‘तेल भर्दा समयको पनि व्यवस्थापन हुने हुन्छ ।’
निगमले अब अमखगन्जदेखि चितवनसम्म पेट्रोलिय पदार्थको पाइपलाइन विस्तारको योजना बनाएको यादवले बताए । पाइपलाइन अध्ययनका लागि बजेट समेत छुट्याइएको उनले जानकारी दिए ।
यस्तै सिलगुडीदेखि झापासम्म ३५ किलोमिटर पाइपलाइन विस्तारको योजना रहेको उनको भनाइ छ । भारतको मोतीहारीबाट सर्लाहीसम्म ग्यास पाइपलाइन विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।
निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ३ वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । १ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रालिले सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ ।
यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगन्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५/५ हजार किलोलिटर क्षमताका ट्यांक निर्माणको तयारी समेत सुरु गरिएको छ ।
निर्माण सम्पन्न भएपछि मात्रै ५ दिनको माग धान्न सक्ने डिजेल र ७ दिनको माग धान्न सक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने यादवले जनाए ।