Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाउँपालिकाको आफ्नै ‘गाउँ प्रहरी’

शुक्रबार, माघ १३, २०७९

दैलेख–गुराँस गाउँपालिकाले ‘गाउँ प्रहरी’ गठन प्रक्रिया थालेको छ । गाउँ कार्यपालिकाको ११ औं गाउँसभाले गाउँ प्रहरी गठन गर्ने निर्णय गरेको हो । सभाबाट गुराँस गाउँ प्रहरी सञ्चालनसम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ ।

कार्यविधि र गुराँस गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा गाउँ प्रहरी गठनको काम थालनी गर्न गाउँ कार्यपालिकालाई अनुमति प्रदान गर्ने निर्णय गाउँ सभाबाट गरिएको छ ।

पालिका भित्रका सार्वजनिक सम्पत्तिको रक्षा, विकास निर्माणमा हुने अवरोधको सामना, सभा–सम्मेलनलाई व्यवस्थित बनाउन गाउँ प्रहरी गठनको आवश्यकता देखिएको प्रवक्ता दीपेन्द्र वलीले बताए ।

उनका अनुसार गाउँ प्रहरी संगठनमा १२ जनासम्म प्रहरी रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिएको छ ।

गाउँ सभाबाट यौनिक अल्पसंख्यक समुदायलाई सुविधा उपलब्ध गराउने कार्यविधि पनि पारित गरेको छ ।

स्थानीय तहभित्र रहेको यौनिक अल्पसंख्यकहरूलाई आत्मनिर्भर बनाउन वस्तुगत सेवासुविधा उपलब्ध गराउनेगरी कार्यविधि बनाइएको हो ।

गाउँपालिकाको संरक्षणमा रहेका राउटे समुदायका लागि पनि गाउँपालिकाले थप व्यवस्थित गर्न खोजेको उनले बताए । उनीहरूलाई संघीय सरकारबाट आउने सेवासुविधा र भत्ता सोझै उपलब्ध गराइदिन प्रशासनमार्फत् आग्रह गरिएको वलीले बताए ।

गुराँस गाउँपालिकाले हालसम्म ७९ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र सूचकहरू तयार गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्