Nic Ad Nic Ad
Nic Ad Nic Ad

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

शनिबार, माघ १४, २०७९

वालिङ–स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ ।

व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान वडा १० मा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिइन् ।

५/७ लाखदेखि १५/२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्रयाइरहेका छन् ।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थपेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरू बताउँछन् । प्रतिकेजी ५५ रुपैयाँबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरू थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष १ अर्ब २५ करोड गोटा सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार