रुकुमकोटमा हेलिप्याड लाइट : आपतकालीन उद्धारमा सहयोग
काठमाडौँ – रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा रहेको हेलिप्याडमा लाइट जडान गरिएपछि आपतकालीन उद्धारमा सहयोग भएको छ । रातिको समयमा पनि हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याडमा लाइट जडान गरिएपछि आपतकालीन उद्धारमा सहयोग भएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
यसअघि दिउँसोको समयमा मात्र हेलिकोप्टर अवतरण गर्ने गरेकोमा लाइट जडान गरेसँगै अब रातिको समयमा पनि हेलिकोप्टर अवतरण गर्न सकिने उनको भनाइ छ । सिस्ने गाउँपालिकाको बजेटबाट लाइट जडान गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।
नेपाली सेनाले निर्माण गरेको हेलिप्याडमा सेनाको प्राविधिक सहयोगमा लाइट जडान गरिएको उनले बताए। गाउँपालिकाको करिब सवा २ लाख बजेटमा लाइट खरिद गरिएको अध्यक्ष रेग्मीको भनाइ छ ।
हेलिप्याडमा सोलारबाट अटोमेटिक सञ्चालन हुने सेन्सर लाइट जडान गरिएको नरसिंह दल गणका गणपति प्रमोदकुमार शर्माले बताए। ‘हेलिप्याडमा जडान गरिएका सेन्सर लाइटको ५ वर्ष वारेन्टीसमेत छ, यी लाइट घाम डुब्यो भने आफैँ बल्छन् र बिहान भयो भने आफैँ निभ्छन्,’ उनले भने ।
लाइट जडानको काम सकिएपछि शनिबार सिस्ने गाउँपालिकाको स्वामित्वमा रहने गरी पालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको छ । रुकुमपूर्वमा इमर्जेन्सी अवस्थाका बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै आइएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका, सुत्केरी व्यथा लागेका र अन्य विभिन्न समस्याले तत्काल उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई हेलिकोप्टरबाटै सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ लैजाने गरिएको गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताए ।