Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वी युक्रेनमा रुसी आक्रमण : ३ जनाको मृत्यु

आइतबार, माघ १५, २०७९

काठमाडौँ – पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी ३ जनाको मृत्यु हुनुका साथै कम्तीमा २ जना घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले दिएको जानकारी अनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा ४ बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ । 

उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।

किरिलेन्कोको टेलिग्राममा पोष्ट गरिएका तस्वीरहरूले कारको जलेको अवशेषको वरिपरि छरिएका झ्यालहरू र भग्नावशेषहरू भएका अपार्टमेन्ट भवनहरू देखाउँछन् ।

युक्रेनमाथि आक्रमण गरेको झण्डै १ वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ । त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ ।

युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’  रहेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्