Nic Ad Nic Ad
Nic Ad Nic Ad

वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो : मन्त्री जुग्जाली 

आइतबार, माघ १५, २०७९

काठमाडौँ – गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् । 

मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी पुगेका उनले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सिर्जना भइसकेको दायित्व पुरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताए।  ‘३० अर्बको हाराहारीमा पूँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरु गरेका आयोजनामा सिर्जना भएको १३ अर्ब ५० करोडको वित्तीय दायित्वले अप्ठ्यारो पारेको छ, शुरु गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ । सिर्जना भएको वित्तीय दायित्व पुरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौ,’ मन्त्री जुग्जालीले भने । 


मन्त्री जुग्जालीले गण्डकी प्रदेशको सम्बृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कुल बजेटको चार प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने बताए । वन र वातावरणको संरक्षणसँगै उपयोग मार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिवद्धता जनाए । 

प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्यवभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाइएको मन्त्री जुग्जालीले बताए। 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्