कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, प्रवक्ता भन्छन् ‘कहिले बस्ने टुङ्गो छैन’
काठमाडौँ – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक सरेको छ । अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको बैठक कहिले बस्ने भन्ने टुङ्गो नभएको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।
‘राष्ट्रपतिको निर्वाचनको तयारी र १८ गते बस्ने संसदको बैठक कति लम्बिन्छ भन्ने विषयले अर्थ राख्छ । अहिले नै केन्द्रीय समितिको अर्को बैठक फलाने दिन बस्छ भन्नु हतार हुन्छ । १८ गतेको संसदले प्रकाशित गर्ने कार्य तालिकाले हाम्रो केन्द्रीय समितिको बैठक बस्ने दिनको टुङ्गो लगाउन सहयोग गर्छ,’ प्रवक्ता डा. महतले भने ।
कांग्रेसको केन्द्रीय समितिको बैठक पटकपटक सर्दै आएको छ । आज बस्ने भनिएको बैठक स्थगित भएपछि चार पटक केन्द्रीय समितिको बैठकको मिति सरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १२ गते विज्ञप्ति जारी गर्दै पुस २२ गते केन्द्रीय कार्य समितिको बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यमा आह्वान गरेका थिए ।
पुस २० गते प्रतिनिधि सभाको पहिलो अधिवेशन सन्दर्भमा पुस २३ गते सिंहदरवारमा संसदीय दलको बैठक बस्ने भएपछि पुस २२ गते बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक पुस २८ गते दिउँसो १ बजेका लागि सारियो ।
पुस २६ गते मुख्यसचिव पौडेलले पुस २८ गते बस्ने भनिएको बैठक पुनः माघ १५ गतेका लागि सरेको थियो ।