नेभिगेशन
उद्यम

कोरियाको रोजगारी छोडेर सुन्तला खेती, १ सिजनमा ४५ लाख आम्दानी 

काठमाडौँ – यसवर्ष मात्रै  स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका १ किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गरेका छन् ।

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेका किसान मुक्ति अधिकारीले अहिले अन्तिममा प्रतिकेजी ८९ मा बिक्री गर्दा ४५ लाख आम्दानी भएको जानकारी दिए । 

‘बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ, यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु,’ उनले भने । 


सुन्तला टिप्नेक्रम जारी रहेको र अझै ३ लाख जतिको सुन्तला बोटमै रहेको उनले बताए। गतवर्ष यही समय प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने अधिकारीले जानकारी दिए।

‘गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन, केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो,’ उनले भने ।  

उनले स्याङ्जा शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै ७ लाख नोक्सान भएको उनी बताउँछन् । 
    
‘हालसम्म सुन्तला बिक्रीबाट ४२ लाख आम्दानी गरे, अझै ३ लाख जति आम्दानी हुन बाँकी नै छ, शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै ५५ लाख आसपास पुग्थ्यो,’ उनले भने । 

विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य ४ जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका हुन् । 

‘बुवाले लगाउनुभएको ५ सय बोटलाई बिस्तार गरी मैले विसं २०६९ बाट संरक्षण गर्दै थप्दै गएँ, अहिले मसँग २ हजार२ सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ,’ उनले भने ।  

१४ वर्ष कोरियामा रोजगारी गरेका उनले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिएका छन् । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गरेका उनले  १६० रोपनी क्षेत्रफलमा २ हजार २ सय सुन्तलाका बोट छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप उद्यम

धानखेत मासेर किसानले थाले किबीखेती