गुराँस गाउँपालिकाले बनायो ७९ वटा कानुन
दैलेख– गुराँस गाउँपालिकाले ७९ वटा कानुन बनाएको छ । गाउँपालिकाले स्थानीय तहको अधिकारलाई उपयोग गर्दै ऐन, नियम, कार्यविधि, निर्देशिका र सूचक बनाएको हो ।
गाउँपालिकाको हालै सम्पन्न गाउँसभाको ११औँ हिउँदे अधिवेशनबाट ४ वटा ऐन र २० वटा कार्यविधि पारित गरेको छ । अधिवेशन अवधिभर बसेका २ वटा बैठकले गाउँकार्यपालिकाले सैद्धान्तिक सहमति दिएका ऐन र कार्यविधि पारित गरेको प्रवक्ता दीपेन्द्र ओलीले जानकारी दिए ।
हालै पारित भएका ऐन र कार्यविधिसहित अब गाउँपालिकामा ७९ वटा ऐन, कार्यविधि, निर्देशिका र सूचकहरू तयार भएको प्रवक्ता ओलीको भनाइ छ ।
‘२०७४ मा चुनिएका जनप्रतिनिधिले ३४ वटा ऐन, कार्यविधि, निर्देशिका र सूचक निर्माण गरेका थिए,’ प्रवक्ता ओलीले भने ‘दोस्रो कार्यकालका लागि चुनिएका जनप्रतिनिधिहरूले ४५ वटा निर्माण गरेका छन् ।’
गाउँसभाको ११औँ हिउँदे अधिवेशनले वन व्यवस्थापन, न्यायिक समिति, गुराँस कर्मचारी सेवा र प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन पारित गरेको छ ।
वडा– ८ का वडाध्यक्षसमेत रहेका ओलीका अनुसार सामुदायिक विद्युत् सञ्चालन तथा व्यवस्थापन, शिक्षा तथा विद्यालय अनुगमन, मदिरा नियन्त्रण, गुराँस संरक्षण तथा व्यवस्थापन, बैठक सञ्चालन कार्यविधि पारित भएको छ ।
यस्तै स्थानीय तहले गर्ने बजार अनुगमन तथा व्यवस्थापन, टोल विकास समिति गठन तथा परिचालन कार्यविधि समेत पारित भएको छ ।
राउटे तथा लोपोन्मुख समुदाय र यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सुविधा उपलब्ध गराउनेसम्बन्धी छुट्टाछुट्टै कार्यविधि गाउँपालिकाले बनाएको छ ।
गाउँपालिकाले सञ्चालन गरिहेको अस्पतालमा फार्मेसी सञ्चालनका लागि कार्यविधि बनाएको जनाएको छ । गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण, शान्ति सुरक्षालाई मजबुत बनाउन नगर प्रहरी भर्ना गर्न लागिएको प्रवक्ता ओलीले बताए । नगर प्रहरी भर्ना गर्नका लागि कार्यविधि निर्माण गरिएको छ ।
गाउँसभाबाट सवारीसाधन परिचालन, क्यान्टिन तथा सभा हल सञ्चालन, खानेपानी तथा सरसफाइ स्वच्छता, एकल महिला तथा विपन्न नागरिकलाई स्वास्थ्य बिमा, कृषि उपज संकलन केन्द्र सञ्चालन, जेष्ठ नागरिक सुरक्षा र गाउँसभा सञ्चालन कार्यविधि पारित गरेको छ ।
यस्तै सामाजिक परिचालक तथा पारा सामाजिक कार्यकर्ता परिचालक तथा व्यवस्थापन र संघसंस्था तथा सहकारी व्यवस्थापन कार्यविधि बनेको प्रवक्ता ओलीले बताए ।
गाउँसभाका बैठकबाट ऐन, कार्यविधि पारित गर्नुका साथै गाउँपालिका मातहतमा कार्य गर्ने सेवा करारमा रहेका सशर्त, साझेदारी, आंशिक साझेदारीलगायतमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन उत्तीर्ण भएकालाई सेवा करारमा म्याद थप गर्ने निर्णय भएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म बसेका गाउँ कार्यपालिकाको बैठकबाट भएका सबै निर्णयहरू पारित गर्ने निर्णय गरेको गाउँसभाको बैठकले अध्यक्ष टोपबहादुर बिसीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र सम्बन्धित विषयगत शाखा प्रमुख सदस्य रहेको योजना जाँचपास समिति गठन गरेको छ ।