Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँ राजदूतसँगको भेटमा कलंकी–चावहिल सडकको चर्चा

आइतबार, माघ १५, २०७९

काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसी हित, २ देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायत विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूतका रूपमा नियुक्त भएर आएका छनलाई सफल कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले २ देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अघि बढ्न नसकेको चक्रपथको कलंकी–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गरे ।

चिनियाँ पक्षले आयोजना स्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।

यस्तै चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गरे ।

सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

यस्तै अरनिको राजमार्गको मर्मत र विस्तारमा समेत थप सहयोग उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो । टोखा–छहरे सुरुङमार्ग, संखुवासभा–किमाथांका सडकखण्डका अलावा सीमा नाका खुलाउने विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतको ध्यानाकर्षण गराए । 

भेटमा मन्त्री श्रेष्ठले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक स्तरोन्नतिका विषयमा पनि चासो व्यक्त गरेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार