थारू राष्ट्रिय साहित्य सम्मेलन हुँदै
नेपालगन्ज– थारू साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारू राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा थारू साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको वेशभूषाबारे अन्तक्र्रिया गरी इतिहास अभिलेख गरिने थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले जानकारी दिए ।
उनका अनुसार, सम्मेलनमा थारू तथा गैरथारू साहित्यकारबीच अनुभव आदानप्रदान गर्ने, प्रकाशित कृतिको विमोचन र बिक्री तथा प्रवद्र्धनसमेत गरिने छ ।
थारू लेखक संघको आयोजना र स्थानीय थारू गोचाली समाजको व्यवस्थापनमा हुने सम्मेलनमा साहित्य लेखको प्रशिक्षण, थारू गीत, थारू लेख, थारू पुस्तक, विकासमा बरघर, पश्चिम थारूहटमा राजनीतिक फिलिङ्गो, होमस्टेमा थारू समुदाय उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारू जीवन, बाँकेको थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा, सिकलसेल एनिमियाँको कहरले जनस्वास्थ्यमा प्रतिकूल असर जस्ता थुप्रै जिल्ला तथा स्थानीय स्तरका थारूका मुद्दालाई लिएर बहस तथा छलफल गरिने थारू गोचाली समाजका महासचिव कालुराम थारूले बताए ।
सम्मेलनमा बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बडघरको एजेन्डा, नयाँ जनप्रतिनिधिको कामको प्राथमिकतालगायत विषय पनि उठान गरिने उनले जानकारी दिए ।
सम्मेलनमा झापादेखि कञ्चनपुरका थारू साहित्यकारको सहभागिता रहनेछ । थारू लेखक संघ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको संघका केन्द्रीय सदस्य सोम डेमनडौराले बताए ।