हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक
जुम्ला– हिउँ जमेपछि ५ दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ ।
जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एस्काभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।
यही १० माघ रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हँुदा यो क्षेत्रमा २ फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म–गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् ।
उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जंगी विश्वकर्माले जानकारी दिए ।
विगत वर्षमा वर्षायाममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिनसम्म अवरुद्घ हुने गरेकामा चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एस्काभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिट्टै बाटो सञ्चालनमा आएको हो ।