२ लघुवित्तको लाभांश घोषणा
काठमाडौँ– उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस सेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सिभिल लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५८ प्रतिशत नगद गरी कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
हिमालयनको हकप्रद
हिमालयन ऊर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्कासन हुनेछ । साथै, विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ ।